चिप्स र चक्लेटको लोभ देखाएर बालक अपहरण गर्ने भियतनामी नागरिक पक्राउ

पाटनका ४ वर्षीय बालक अपहरण गरेर वीरगन्ज जाने बसको टिकट काटिसकेका थिए

माघ २८, २०८१

विवेक पोख्रेल

A Vietnamese citizen who kidnapped a child by showing greed for chips and chocolates was arrested

काठमाडौँ — बालक अपहरण गरी बन्धक बनाएको आरोपमा भियतनामी नागरिक प्रक्राउ परेका छन । भियतनामको चाइवाङ सहरका माइ होआङ किन्ह लउनलाई ललितपुरबाट ४ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

बिहीबार साँझ पाटनको मंगलबजारबाट  छोरा हराएको भन्दै बालककी आमाले उजुरी दिएकी थिइन् । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खोज्ने काम सुरु गरेको थियो । प्रहरीले गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा बालकलाई फेला पारेको थियो । कार्यालयका प्रहरी उपरीक्षक  काजीकुमार आचार्यका अनुसार काठमाडौं महानगरपालिका-१४, कलंकीस्थित इलाम मेची गेस्ट हाउसको कोठा नम्बर १०७ बाट बालकको उद्धार गरिएको हो । 

लउनले होटल मालिकलाई बालक आफ्नो भान्जा भएकाले दिदी-भिनाजु आउनासाथ होटलबाट निस्कने बताएका थिए । 'मसँग भान्जा नमान्न पनि सक्छन्, रुन सक्छन् । उसको बाबाआमा आएपछि यहाँ बाट निस्किन्छौ भनेर होटलमा बसेको भेटियो,' प्रहरी उपरीक्षक आचार्यले बताए ।

शुक्रबार साँझ साढे सात बजे उनीहरूले काठमाडौंबाट वीरगन्ज जाने बसको टिकट पनि काटेका थिए । 'बस चढ्नुअघि नै सीसीटीभी फुटेजका आधारमा सकुशल बालकको उद्धार गरेर हामीले लउनलाई पक्राउ गरेका हौं,' आचार्यले भने ।  प्रहरी अनुसन्धानका क्रममा लामो समयदेखि लउनले चिप्स र चक्लेट ख्वाउँदै बच्चालाई फकाएर नजिक बनाएकोसमेत भेटिएको छ । 'बालककी आमा पाटनमा चिया बेच्थिन् । उनी त्यहीँ गएर चिया पनि खाने र बालकलाई चक्लेट र चिप्स दिएर आफ्नो बनाइरहेको देखियो,' उनले भने ।  

प्रहरीसँगको बयानमा लउनले बालकले दु:ख पाएकाले भारत लैजान लागेको बताएका छन् । भारतमा लगेर कुनै बालगृहमा राखेर पढाउने चाहना आफ्नो भएको उनले प्रारम्भिक बयानमा भनेका छन् । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

प्रहरीका अनुसार उनी १४ महिना पहिला पनि नेपाल आएका थिए । उक्त समयमा उनी होस्टल र होटलमा बसेको भेटिएको छ । केही समय उनी भाषा सिक्न भनेर गुम्बामा गएको पनि देखिएको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार उनी केही समय भारतमा बसेको र त्यहाँ उनले आधार कार्डसमेत बनाएका छन् । उनको साथबाट प्रहरीले भियतनामी मुद्रा २० हजार, मोबाइल ३ थान, ल्यापटप १ थान, नक्कली भारतीय आधार कार्ड २ थान, बसको टिकट १ थान र चक्कु १ थान बरामद गरेको छ । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully