काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने बताएका छन् ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन राष्ट्रपति पौडेलले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मुल मन्त्र बनाएर काम गर्नुपर्ने बताएका हुन् ।
‘सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सकिँदैन । नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मूल मन्त्र बनाएर काम गर्नुपर्छ । यसमा नीति, पद्धति, विधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन, सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो । सत्ता, शक्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवेश गराउँछ,’ राष्ट्रपति पौडेलले भने ।
कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको भन्दै आयोगले भ्रष्टाचारका प्रमुख जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराइ यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ छ । ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसंगति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको भन्दै यसमा राज्य र अख्तियार गम्भीर बन्नुपर्ने उनले बताए ।
भ्रष्टाचारसम्बन्धी विधेयकहरु लामो समयसम्म किनारा नलाग्दा पनि समस्या आएको गुनासो आइरहेको पनि उनको भनाइ छ । भ्रष्टाचारको प्रकृति र स्वरूप परिवर्तन भइरहेको भन्दै त्यसैअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्वन गर्न आवश्यक रहेको उनले बताए ।
