जसपा, नेपालले अडान लिए राष्ट्रिय सभामा अध्यादेश पारित हुँदैन : दाहाल

'उहाँहरू मुद्दा छाडेर सरकारमा जानुहुन्छ जस्तो लाग्दैन'

माघ २८, २०८१

कान्तिपुर संवाददाता

JSP, Nepal takes a stand that the ordinance will not be passed in the National Assembly: Dahal

काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जसपा, नेपालले अडान लिएमा राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले अहिलेसम्म जसपा, नेपालले विधि प्रक्रियासँग सम्बन्धित विषयमा अडान लिएको बताएका हुन् । 

'विधि प्रक्रियासँग सम्बन्धित विषयमा उहाँहरू अहिलेसम्म अडिनु भएको छ । अब पनि अडिनुहुन्छ जस्तो लाग्छ मलाई । किनकि उहाँहरू मुद्दाहरूलाई छाडेर खालि सरकारका निम्ति जानुहुन्छ जस्तो लाग्दैन । हुन त निर्णय उहाँहरूले गर्न बाँकी नै छ । उहाँहरूको केन्द्रीय समिति बैठकले निर्णय गर्नुहोला । उहाँहरूले अडान छाड्नु भएन भने अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने स्थिति बन्दै छ,' उनले भने । त्यस्तै वर्तमान सरकार जनता र सुशासनका पक्षमा नरहेको पनि दाहालले दोहोर्‍याएका छन् । 'सुशासनविरुद्धको अभियान रोक्नका लागि बनेको हो यो सरकार । यो सरकार संविधान मिचेर बनेको सरकार हो,' उनले भने । 

अध्यक्ष दाहालले सदन बोलाउने बेला अध्यादेश ल्याएकाले पनि स्थित सहज नभएको उल्लेख गर्दै सरकारले गलत उद्देश्यले भूमिसम्बन्धी अध्यादेश ल्याएको पनि बताएका छन् ।  त्यस्तै उनले केन्द्रीय समिति बैठकको निर्णयअनुसार मधेशी जनतासँगको सम्बन्धलाई सुदृढ गर्न हुलाकी मार्गमा जागरण अभियान चलाइने जानकारी दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully