कतारद्वारा कागजातविहीन आप्रवासीलाई आममाफी, स्वदेश फिर्ता हुन तोकियो समय–सीमा

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Qatar grants amnesty to undocumented migrants, set deadline for repatriation

काठमाडौँ — कतारले आवासीय भिसाको समय नाघेर कागजातविहीन भएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र बिनासजाय स्वदेश फिर्ता हुन पाउने गरी आममाफी दिएको छ । आज आइतबारदेखि नै आममाफीको नियम लागू हुने गरी घोषणा भएको हो ।

कतारको आन्तरिक मन्त्रालयद्वारा जारी सूचनाअनुसार त्यहाँको आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिक स्वदेश फिर्ता हुन पाउने भएका हुन् । अब स्वदेश फिर्ता हुनका लागि उनीहरूले कतार सरकारलाई कुनै पनि किसिमको जरिवाना तिर्न वा डिपोर्टटेसन सेन्टर (घरफिर्ती केन्द्र)मा बस्नुपर्ने छैन ।

कतारले परिचय पत्र नबनाएका, भिसाको म्याद नाघेका वा नवीकरण नभएका श्रमिकले अर्को रोजगारदाताको स्वीकृतिमा परिचय पत्र बनाएर बस्न पाइने वा नपाइने विषय भने प्रस्ट रूपमा खुलाएको छैन । यसअघिको आममाफीमा श्रमिकलाई स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत बनाएर कतारमै बस्न पाइने विकल्प दिइएको थियो ।

कतारद्वारा स्वदेश फिर्ताका लागि साल्वा रोडस्थित सर्च एण्ड फलोअप डिपार्टमेन्ट वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजेदेखि राती ९ बजेसम्म सम्पर्क गर्न सक्ने जनाइएको छ ।

यो आममाफीमा राहदानी नभएका श्रमिकको हकमा नेपाली दूतावासले आवश्यक सहजीकरण गर्ने जनाइएको छ । कतारमा नेपाली आवासीय कानुन उल्लंघन गरेर बस्ने नेपाली श्रमिकको संख्या यकिन नभएको नेपाली दूतावासले जनाएको छ ।

कतार सरकारले कम्पनी परिवर्तन गर्न पाइने, राहदानी आफैं राख्न पाइने र स्वदेश फिर्ता हुन एक्जिट परमिट हटाएपछि कागजातविहीन भएर बस्ने नेपाली श्रमिकको संख्या घट्दै गएको छ ।

कान्तिपुर

Link copied successfully