काठमाडौँ — एमालेका सांसद पदम गिरीले सरकारले ल्याएको अध्यादेशबाट उद्योगी र जनता खुसी भएको दाबी गरेका छन् । उनले अध्यादेश ल्याउने कदमको बचाउ गर्दै प्रतिपक्षी दलहरू दुःखी हुनुपर्ने कारण के हो भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद गिरीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले अध्यादेशका सम्बन्धमा संसद्को रोस्टमबाट भ्रम छरेको पनि आरोप लगाए ।
सासंद गिरीले नागरिक, व्यवसायी सबैले अध्यादेशको समर्थन गरेको दाबी गर्दै अध्यादेशको विरोध गर्नुको आधार नरहेको बताए । ‘अहिले सरकारले ल्याएको अध्यादेश बदनियतले ल्यायो, स्वार्थ समूहको हितमा ल्यायो, नेपाली जनताको हितमा छैन भनेर उहाँले भनिरहनुभएको छ । योभन्दा विडम्बना अरु के हुन्छ ? अध्यादेश जारी भइसकेपछि व्यापारी तथा उद्योगीहरूले खुला रूपले स्वागत गर्नुभएको छ,' उनले भने, 'जनता र आमउद्योगी खुसी छन् भने प्रतिपक्षी दुःखी हुनुपर्ने कारण के हो ?'
अध्यादेश आएपछि आईटी क्षेत्रमा लागेका युवा अब नेपालमा मात्र होइन, विदेशमा समेत शाखा विस्तार गरेर व्यापारमार्फत मनग्य आम्दानी गर्न सकिने भयो भनेर खुसी व्यक्त गरिरहेको पनि गिरीको भनाइ थियो ।
