४० वर्षपछि बमबहादुरले भेटे परिवार

१३ वर्षको उमेरमा घरबाट हराएका बमबहादुर डाँगी अपरिचित एक भारतीयको साथ लागेर भारत गएका थिए 

माघ २६, २०८१

तृप्ति शाही

Bam Bahadur met the family after 40 years

वीरेन्द्रनगर — थातथलो खोज्दै ४० वर्षपछि भारतबाट नेपाल आएका बमबहादुर डाँगीले परिवार भेटेका छन् । गत पुस ११ मा कान्तिपुर दैनिकमा ‘थातथलो खोज्दै ४० वर्षपछि नेपाल’ शीर्षकमा समाचार छापिएपछि उनीबारे आफन्तले जानकारी पाएका थिए । आफन्तसँगको सम्पर्कपछि बमबहादुरले परिवार भेट्टाएका हुन् ।

१३ वर्षको उमेरमा घरबाट हराएका बमबहादुर अपरिचित एक भारतीयको साथ लागेर भारततिर गएका थिए । भारत पुगेपछि अलपत्र परेका उनी घर फर्किन सकेका थिएनन् ।

पछि नेपालमा रहेको परिवारको याद आए पनि उनको आर्थिक अवस्था र पारिवारिक व्यस्तताले खोज्न पाएका थिएनन् । छोराछोरी हुर्केर कमाउने भएपछि परिवार खोज्दै नेपाल आएका थिए । बमबहादुर २ छोरीसहित गत पुसमा सुर्खेत पुगेका थिए । त्यतिबेला एक साता नेपाल बसेर परिवार खोजे पनि नभेटिएपछि भारत फर्किएका थिए । 

परिवार खोजिरहेको समाचार बमबहादुरकी भान्जी धनसरा वलीले थाहा पाएपछि उनलाई आफ्नो मामा हराएको याद आयो । अनि मामाका छोरीहरूसँग फेसबुकमा जोडिएर कुरा गरिन् । भारतमा बस्ने बहिनी गंगा वली सिंहलाई पनि मामाका छोरीहरूको नम्बरमा सम्पर्क गर्न लगाइन् । 

धेरै जना आफन्त जोडिएर बमबहादुरको परिवारसँग कुरा गर्न थाले । अनि बमबहादुर हराएका मामा नै भएको थाहा पाएपछि नेपाल बोलाएको धनसराले बताइन् । मामासँगै माइजू, एउटा बहिनी र भाइ पनि आएको उनले जानकारी दिइन् । 

मामाको परिवार आएपछि यता यहाँ रहेका दुई मामाहरू ठगबहादुर र टेकबहादुरले टीकाटालो गरेर सबै आफन्त बोलाएर खानपिन, नाचगान गर्दै रमाइलो गरेको उनले बताइन् । ‘हाम्रो लागि ठूलो भगवान् समाचारै बन्यो,’ उनले भनिन्, ‘समाचार पढ्दा माइलो मामाको नाम मिल्यो । बाजेको नाम रनबहादुर थियो तर मामाले रामबहादुर भन्नुभएको रहेछ । मामाले समाचारमा भनेका केही नाम मिलेका थिए । केही मिल्न खोजेका थिए । उहाँलाई चोट लागेका कारण सबै कुरा याद रहेनछ ।’

बमबहादुरको परिवार सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा बस्दै आएको छ । यो पहिलेको रामघाट गाविस–६ थियो । घरबाट झगडा गरेर भागेकी भाउजूलाई फर्काउन गएका बेला बमबहादुर हराएको परिवारले जनाएको छ । बमबहादुरले वीरेन्द्रनगरबाट हराएको भने पनि भाइ छिन्चु बजारबाट हराएको उनका दाइ ठगबहादुरले बताए । भाइ बिरामी भएकोले धेरै कुरा बिर्सिएको उनले बताए । ‘भाइ भेटिएकोमा धेरै खुसी लागेको छ । भाइलाई यतै घरमा हामीले जमिन पनि भाग लगाएर राखेका छौं,’ उनले भने, ‘भाइलाई हामीले सबै परिवार लिएर यतै बस पनि भनेको छु । अब उसले के गर्छ । जता बसे पनि भेट भयो यही ठूलो कुरा भयो ।’ 

बमबहादुरका बुवाआमाको भने धेरै वर्षअघि मृत्यु भइसकेको छ । उनका दुई जना दाइ र एक भाइ छन् । भाइ भारतमै बस्ने गरेका छन् । उनका चार दिदीमध्ये एक जनाको मृत्यु भइसकेको छ । अन्य दिदीसँग पनि बमबहादुरले भेटेका छन् । भारतको हिमाचलको सिम्लामा बसोबास गर्दै आएका उनीसँग भारतीय रासन कार्डबाहेक कुनै आधिकारिक कागजात छैन । परिवार भेटेपछि बमबहादुर आफ्नो र परिवारको नागरिकता बनाउने तयारी गरिरहेका छन् ।

अब नागरिकता पाएर नेपाली नागरिक हुने छोरी किरणले बताइन् । बमबहादुर ४० वर्षपछि आफन्त भेट्दा दङ्ग छन् । अहिलेसम्म मजदुरी गर्दै बसिरहेको ठाउँ छाडेर थातथलोमा आउनका लागि परिवारमा सल्लाह गर्ने बताए । ‘छोरीको उतै फार्मेसीको जागिर छ । छोरा पढिरहेको छ । सन्तानको भविष्यका लागि पनि गाउँ फर्किएर घर बनाउने सोच पनि छ,’ उनले भने ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully