काठमाडौँ — आफ्नो कार्यकक्षमा भएको आगलागीबाट मन्त्रालयका कुनै पनि महत्त्वपूर्ण कागजातमा क्षति नपुगेको खानेपानीमन्त्री प्रदीप यादवले दाबी गरेका छन् । मन्त्री यादवको कार्यकक्षमा शनिबार बिहान आगलागी भएको थियो ।
आगलागीपश्चात मन्त्रालय पुगेका मन्त्री यादवले आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताएका हुन् । मन्त्री यादवसँगैसचिव प्रमिलादेवी शाक्य बज्रचार्य, सहसचिव रमाकान्त दुवाडीसहितको टोली मन्त्रालय पुगेको थियो ।
आगलागी भएको मन्त्रालयको निरीक्षण पश्चात मन्त्री यादवले भने, 'मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिवलाई पठाउने गर्छु । सामान्य केही पढ्नका लागि राखिएका कागजात बाहेक कुनै पनि महत्वपूर्ण कागजात नष्ट भएको छैन ।'
विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका मन्त्री यादवले गरेका छन् । उनले भने, 'दु:खद् घटना भयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिजो शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ, आज भने आगलागी भयो ।'
शनिबार बिहान आगलागीले खानेपानीमन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुर्याएको छ । अचानक लागेको आगलागीले मन्त्री यादवको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव दुवाडीले जानकारी दिएका छन् । उनका अनुसार आगलागीबाट ५० लाखसम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । क्षतिको मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले समिति गठन गरेको छ ।
