अध्यागमनले अनुसन्धान थालेपछि १७ अमेरिकी कारबाहीअगावै स्वदेश फर्किए

माघ २६, २०८१

कान्तिपुर संवाददाता

After immigration began investigating, 17 Americans returned home before action was taken

काठमाडौँ — पर्यटकका रूपमा भित्रिएर भिसा दुरुपयोग गरेको आरोपमा अध्यागमन विभागको अनुसन्धान दायरामा तानिएका १७ जना अमेरिकी नागरिक कारबाहीअगावै सुटुक्क फर्किएका छन् ।

पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ परेका थिए । 

अध्यागमन विभागको अनुसन्धानमा तानिएका उनीहरू अनुसन्धान टुंगोमा नपुग्दै सुटुक्क स्वदेश फिर्ता भएका हुन् । विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार अनुसन्धान दायरामा तानिएका सबै जना शुक्रबार कतार एयरवेजको विमानबाट फिर्ता भएका हुन् । स्रोतका अनुसार विभागले उनीहरूमाथि निश्चित अवधिका लागि नेपाल आउन नपाउने गरी निष्कासनको तयारी गरेको थियो । तर, कारबाही छल्दै उनीहरू त्यसअगावै स्वदेश फिर्ता भएका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको थियो । त्यसपछि उनीहरूलाई प्रशासनले सोधपुछ गरी चेतावनी दिएर छाडेको थियो भने उनीहरूबाट बरामद कागजात अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालयमा पठाएको थियो । गृहले भने थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको थियो । 

सुनसरी प्रशासनका अनुसार अमेरिकी नागरिकहरू र्‍यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड अनुसन्धानमा तानिएका थिए । 

कान्तिपुर

Link copied successfully