काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशनमा प्रवासमा रहेका सदस्यले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको पार्टीले जानकारी दिएको छ ।
काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा माघ २७ देखि २९ सम्म आयोजना हुने महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समिति संयोजक हिसिला यमीले जानकारी दिइन् । प्रवासमा रहेका सदस्यहरूका लागि महाधिवेशनमा अनलाइन मतदानको व्यवस्था गरिएको उनले बताइन् ।
‘हामी एउटा नयाँ परीक्षण गर्दैछौँ, समावेशी र साँच्चै त्यसको मर्मलाई समेटेका छौँ । हाम्रो पदाधिकारीमै समावेशीअन्तर्गत अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाका आधारमा व्यक्तिगत प्रतिस्पर्धाका आधारमा छ भने उपाध्यक्ष समूहगत प्रतिस्पर्धाको माध्यमबाट आउने, सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई खुला चुनावको माध्यमबाट गर्दैछौँ,' उनले भनिन्, 'केन्द्रीय सदस्यमा पनि उठ्नका लागि हामीले समावेशिताका आधारमा सरकारले अपनाउँदै आएको प्रतिशतका आधारमा व्यवस्था गरेका छौं । यो हाम्रा लागि पनि चुनौती हो ।’
पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७ सय ५३ मध्ये ५ सय १२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको यमीले जानकारी दिइन् । ३१ हजार पार्टी सदस्यहरूबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरू काठमाडौं आइसकेको पार्टीले जनाएकाे छ ।
पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको नेताहरूले दाबी गरेका छन् । पार्टीले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ ।
