प्रहरीसँग युवतीको गुहार: यो किचलोबाट म कसरी उम्किऊँ?
काठमाडौँ — उनीसँग विगतमा बिमा कम्पनीमा काम गरेको अनुभव थियो । त्यस क्रममा सेवाग्राहीहरूले कहिलेकाहीँ उनको व्यक्तिगत खातामा पोलिसी र प्रिमियम रकम पठाउँथे, जुन उनले पछि कम्पनीको खातामा हाल्ने गर्थिन्। उनलाई लाग्यो, ‘यो पनि त्यस्तै हो ।’
‘मैले अनलाइन जागिर गरेको हुँ । मेरो खातामा आएको पैसा ठगीको हो भन्ने मलाई थाहै थिएन । आएको पैसा तत्काल जागिर दिनेलाई फिर्ता गर्थेँ । अहिले मलाई ‘अनलाइन गेम खेलाएर ठगिस्’ भन्दै धम्कीपूर्ण फोन र म्यासेजहरू आएका छन् । म पनि ठगिएको छु । मेरो उजुरी दर्ता गर्दिनुस् मलाई न्याय दिनुस्।'
नेपालगन्जबाट रात्रि बस चढेर बिहान अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेकी एक युवती आँसु पुछ्दै प्रहरीलाई आफ्नो पीडा सुनाइरहेकी थिइन् । तर प्रहरीले उनलाई ठगसँग मिलेर काम गरेको भन्दै निवेदन लिन मानेन ।
२३ वर्षीय उनी कलेज पढ्छिन् र आफ्नो दाइको उपचार खर्च जुटाउने आसले अनलाइन जागिर सुरु गरेकी थिइन्। १५ वर्षअघि बुबा बितेपछि उनकी आमाले अर्को बिहे गरिन् । त्यसपछि उनी मामा घर बसेर पढ्थिन् । साढे दुई वर्षअघि मामाघरको हजुरआमा पनि बितेपछि उनी कोठा लिएर बस्न थालिन् । दाइलाई नियमित रूपमा औषधि उपचार गराउने, पढ्ने र कोठा खर्च जुटाउन उनलाई मुस्किल थियो । डिसेम्बर ३० मा फेसबुक चलाउँदै गर्दा उनले ‘अनलाइन जबको अवसर’ भन्ने पोस्ट देखिन्। उक्त लिंक क्लिक गरेपछि उनलाई ह्वावाट्सएपमा म्यासेज आयो, ‘हामी तिमीलाई जब र आकर्षक पारिश्रमिक दिन सक्छौँ ।’
युवतीले सोधिन्: काम के हो? कति पैसा आउँछ?
उत्तर आयो : तपाईँको खातामा पैसा आउँछ। त्यो पैसा हाम्रो वा कम्पनीको खातामा राख्नुपर्छ। घरमै बसेर फुर्सदमा गर्न सकिने सजिलो काम हो।
जब उनले कम्पनीबारे जानकारी मागिन्, जवाफ आयो: यो क्रस–बोर्डर अमेजन कम्पनी हो। नेपालमा खाता नभएकाले हामीले नेपाली नागरिक खोजिरहेका छौं।
उनीसँग विगतमा बिमा कम्पनीमा काम गरेको अनुभव थियो । त्यस क्रममा सेवाग्राहीहरूले कहिलेकाहीँ उनको व्यक्तिगत खातामा पोलिसी र प्रिमियम रकम पठाउँथे, जुन उनले पछि कम्पनीको खातामा हाल्ने गर्थिन्। उनलाई लाग्यो, ‘यो पनि त्यस्तै हो ।’
उनीहरूले जागिर छनोट प्रक्रियासमेत सुरु गरे । जसले उनलाई थप विश्वास दिलायो । उनले त्यसका लागि आफ्नो नागरिकता, फोटो, बैंक खाता विवरण र क्युआर कोड पठाइन्। डिसेम्बर ३१ मा उनलाई जागिरमा चयन गरिएको जानकारी आयो। त्यसपछि उनलाई टेलिग्रामको 'स्टार पे' नामक समूहमा जोडियो, जहाँ ९ जना थिए, जसमा दुई जना युनाइटेड किङ्डमका व्यक्तिहरू भन्ने परिचय थियो। उनीहरूले ग्रुपमा “पैसा आउँदै छ” भनी भौचर वा स्क्रिन सट पठाउँथे। १०–१५ मिनेटमै पैसा आउँथ्यो। उनलाई आएको रकम सोही समूहले दिएको क्युआर कोडमा पठाउन भनियो। उनले लाक माया तामाङ, सोमी लामा तामाङ, जानुका सुवेदी जस्ता व्यक्तिहरूको विभिन्न बैंक खातामा प्राय पैसा पठाउँथिन्।
युवतीलाई रकमको १ प्रतिशत पारिश्रमिक दिइन्थ्यो। काम फटाफट हुँदै गयो । आफ्नै दुई वटा र दिदीको छोरा जो विदेशमा छन् । उनको खाता पनि यही प्रयोजनका लागि प्रयोग गरिरहेकी थिइन् । बैंकमा लिमिट कारोबार मात्र हुने भएपछि उनी नयाँ बैंक खाता खोल्ने तयारी गर्दै थिइन् । तर जनवरी ७ मा सीआईबीबाट फोन आएपछि उनी झस्किइन् । बल्ल उनले आफ्नो खातामा आउने रकम ठगीको हो भन्ने पत्तो पाइन् । उनी अहिले आर्थिक र मानसिक तनावमा छिन्।
प्रहरीको फोन आएपछि उनले बाँकेको जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइन् । तर निवेदन स्वीकृत भएन । त्यसपछि उनी रातभर बस यात्रा गरेर काठमाडौँ आइन् । ‘मैले आएको सबै पैसामध्ये १ प्रतिशत राखेर अरूलाई पठाएकी छु । म पनि त जागिर भनेर ठगिएकी हुँ,' उनले भनिन् । सात दिनमा तीन बैंकमार्फत् झन्डै ३५ लाख रुपैयाँको कारोबार भएको उनी बताउँछिन् ।
‘धेरैले फोन गरिरहेका छन् । पैसा फिर्ता गर्न सक्ने अवस्था छैन । यो बीचमा एक जनाले मुद्दा नै चलाउँछु भनेपछि साथीसँग सापटी मागेर ६० हजार तिरेँ । बिमा कम्पनीमा काम गर्दा १५ हजार रुपैयाँ कमाउँथेँ । कलेजको शुल्क तिर्नु छ, दाइको उपचार गर्नुपर्ने जिम्मेवारी पनि छ,’ उनले रुँदै आफ्नो दुःखेसो पोखिन्, ‘मैले काम गरेर ३५ हजार कमाएँ । तर १७ हजार कलेजको शुल्क तिरेपछि बाँकी रकम दाइको उपचारमा खर्च भयो । ’
आफू फसेको र अब यो समस्याबाट उम्किन चाहेको उनी बताउँछिन् । ‘मलाई यसरी ठगी हुन्छ भन्ने पनि थाहा थिएन । अहिले बाँच्नु र मर्नुको अवस्थामा पुगेको छु,' उनले रुँदै आफ्नो समस्या राखिन्, ‘म अनलाइन जागिरको लोभमा फसेँ, तर म अपराधी होइन ।’ आफूले यस्ता ठगीबारे पहिले जानकारी नपाएकाले यो ठगीको चक्करमा फसेको सुनाइन् । ‘थाहा भएको भए म यो काम गर्ने नै थिइन,’ उनी भन्छिन्, ‘म दोषी कि पीडित?’
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वावाट्सएप, टेलिग्राममार्फत पीडितहरूसँग साथी बनी कुराकानी गरी अनलाइनमार्फत ‘सुवर्ण रोजगारको अवसर छ’ भनी झुक्क्याउने प्रवृत्ति बढ्दो छ । ठगहरूले जुमी, एमोजोन जस्ता विभिन्न नामबाट अनअफिसियल लिङ्क पठाई अनलाइन जागिरको बहानामा विभिन्न टास्कहरू पूरा गर्न लगाउँछन्।
पीडितलाई लाइक, सब्स्क्राइब र सेयर गर्न लगाएर थोरै रकम मुनाफाको आश्वासन दिएर विभिन्न बैंक तथा वालेटहरूमा रकम पठाउन बाध्य पारिन्छ । यस्ता प्रकारका अनलाइन ठगीका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।
उनले भने, ‘अपरिचित व्यक्तिहरूसँग वित्तीय कारोबार नगर्न अनुरोध गर्दछु । यो आर्थिक वर्षको पुस महिनासम्ममात्र अनलाइन ठगीसम्बन्धी ३० मुद्दा दर्ता भइसकेका छन् । जसको बिगो रकम अर्बौँमा छ । देशमा बसेपछि देशको कानुन जानेको छैन भनेर क्षमा पाइँदैन ।’ यस्ता खालका आर्थिक क्षति र कानुनी कारबाहीबाट जोगिन सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत बन्न आचार्यको आग्रह छ ।
