तिलोत्तमा — नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले संविधान निर्माण भएपछि जनताले आशाभन्दा निराशा भोगेको बताएका छन् । उनले उकुसमुकुसले जनता आत्तिएकाले अब कार्यक्रम र एजेन्डा स्पष्ट बोकेको पार्टी आवश्यक रहेको जनाए ।
शुक्रबार रुपन्देहीमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकले गणतान्त्रिक नेपालको कार्यक्रम र एजेन्डा बोकेको पार्टी खोजेको बताए ।
महासचिव भूसालले आफूहरू गणतान्त्रिक नेपालको एजेन्डा बोक्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने अभियानमा रहेको बताए । उनले जनताको आधारभूत समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रिय पुँजीको विकास गर्दै रोजगारीको ग्यारेन्टी गर्न योजना र कार्यक्रम सहितको पार्टीको आवश्यकता रहेको बताए । ‘युवा पलायन रोक्न, आर्थिक विकास गर्न, अब जिम्मेवार क्रान्तिकारी एकजुट हुने बेला आएको छ,’ उनले भने, ‘अहिले हामी यही काममा खटिएका छौं ।’
अगुवा कार्यकर्तासमेत उपस्थित कार्यक्रममा महासचिव भूसालले संविधानका रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा एकीकृत समाजवादीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निष्कर्षमा आफूहरू पुगेको बताए । उनले अबको एक वर्षभित्र नेकपा एकीकृत समाजवादी मुलुकमा आशा जगाउने पार्टी बन्ने दाबी गरे । उनले अब छिट्टै केन्द्रीय कमिटिको बैठकलगत्तै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको बीचमा जाने बताए ।
