चितवन जिल्ला अदालतले भन्यो, ‘लामिछाने कसुरमा संलग्न नरहेको अहिल्यै भन्न सक्ने अवस्था छैन’
चितवन — साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीमा अभियोजन लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने ५४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । चितवन अदालतको बिहीबार जारी आदेशपछि प्रभु बैंकको ग्यारेन्टी राखेर लामिछाने रिहा भएका हुन् ।
जिल्ला न्यायाधीश दयाराम ढकालले लामिछाने कसुरमा संलग्न नपाइएको अहिल्यै भन्न सक्ने अवस्था नरहेको भन्दै धरौटी लिन आदेश गरेका थिए । लामिछानेले चितवन अदालतमा इन्कारी बयान दिए पनि गोर्खा मिडियामा सेयर सदस्य र प्रबन्ध निर्देशक रहेको, आफ्नो कार्यकालमा धेरै चेक जारी गरेको स्वीकार गरेको आदेशमा उल्लेख छ ।
‘ती चेक अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरेको भनेर बयानमा उल्लेख गरेको, राईसमेत मूल मुद्दामा प्रतिवादी रहेको, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम आएको भन्ने मिसिलमा संलग्न चेकको प्रतिलिपिबाट देखियो,’ आदेशमा उल्लेख छ ।
लामिछानेसमेतले ठगी गरेको भनेर जाहेरवालाबाट किटानी परेको पनि न्यायाधीश ढकालले आदेशमा लेखेका छन् । अनुसन्धान अधिकारीसमक्ष सहप्रतिवादीहरू छविलाल जोशी र कुमार रम्तेलले प्रतिवादी लामिछानेलाई समेत पोल गरी बयान गरेको, मौकामा घटना विवरण कागज गर्ने शैलेन्द्र रेग्मी, अर्जुन श्रेष्ठसमेतको भनाइ तथा मूल मिसिलमा संलग्न बरामदी मुचुल्कासमेतका तत्काल प्राप्त प्रमाणका आधारमा धरौटी लिने आदेश गरेको न्यायाधीश ढकालले उल्लेख गरेका छन् ।
बुधबार अदालतमा हाजिर भएका लामिछानेलाई बयान लिएर दुई दिन थुनछेक बहस गरेपछि बिहीबार आदेश जारी गरिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।
साहारा सहकारीका पीडित बचतकर्ताले ०८० असोज ९ मा बचत ठगी भएको उजुरी चितवन प्रहरीमा दिएका थिए । त्यसअघि नै उनीहरूले रकम फिर्ताका लागि विभिन्न दबाबमूलक अभियान चलाउँदै आएका थिए । हदम्याद गुज्रर्ने भएपछि गत असोज ८ मा गीतेन्द्रबाबु (जीबी) राईलगायत १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
सोही दिन नै पूरक अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । साहारा सहकारीबाट पैसा गएको देखिएका गोर्खा मिडियालगायतका कम्पनीबारे पनि अनुसन्धान गर्न प्रहरीलाई भनिएको थियो । चितवन प्रहरीले अनुसन्धान सकेर माघ ४ मा प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनका आधारमा लामिछाने, जोशीलगायत थप १५ जनाविरुद्ध मंगलबार मुद्दा दायर गरिएको थियो ।
