गाउँकै स्कुलमा मियाँ सरका ४ दशक

सामुदायिक स्कुलमा मुस्लिम समुदायका शिक्षक खासै भेटिन्न, तिनै थोरै मुस्लिम शिक्षकमध्येका एक हुन् फसिह आलम

माघ २५, २०८१

पर्वत पोर्तेल

Mian Sir's 4 decades in the village school

डोरिया, मोरङ — पूर्वी मोरङको रतुवामाई नगरपालिका–२ डोरिया गाउँका फसिह आलम मियाँ ६० वर्ष पुग्न लागे । चार दशकभन्दा बढी समयदेखि उनी गाउँले शिक्षकका रूपमा स्थानीय स्कुलमा पढाइरहेका छन् । २००९ मा स्थापना भएको गाउँकै पुरानो डोरिया आधारभूत माविमा २०४० देखि पढाइरहेका उनले आगामी वैशाखमा अनिवार्य अवकाश पाउँदै छन् । 

सामुदायिक स्कुलमा मुस्लिम समुदायका शिक्षक खासै भेटिन्नन् । तिनै थोरै मुस्लिम शिक्षकमध्येका एक हुन् फसिह आलम । उनी ०४० फागुन १६ मा तत्कालीन झुर्किया गाविसको डोरिया प्राविमा करार शिक्षक नियुक्त भए । २०४८ पुस १ मा स्थायी भएका थिए ।

यो गाउँ मियाँको पुरानो थातथलो हो । उनका १५ औं पुस्ता यही गाउँमा जन्मेहुर्के । उनले प्रारम्भिक शिक्षा गाउँकै स्कुलबाट लिए । त्यो बेला उनकै नातेदार दाइ अब्दुल रहिम प्रधानाध्यापक थिए । उनैले हात समातेर स्कुल लैजान्थे मियाँलाई । ५ कक्षापछि पढ्न गाउँमा नजिकै स्कुल थिएन । 

६ कक्षादेखि उनी सीमा तरेर भारततिर पढ्न थाले । विहारको अररियाबाट म्याट्रिक गरे । विहारकै बहादुरगन्जबाट आईए सके । पढाइ सकेर घर फर्किए । त्यहीबेला दाइ अब्दुलले उनलाई पढाउन आग्रह गरे । मियाँ त्योबेला आईए पढ्ने गाउँकै एक्ला थिए । दाजु प्रधानाध्यापकले त एसएलसी पनि पछि मात्र गरेका थिए । २० वर्ष प्रधानाध्यापक भएपछि अब्दुल राजनीतितिर लागे ।

मियाँले शिक्षण पेसा अँगाले । सुरुमा उनलाई नेपाली भाषा बोल्न सकस भयो । भारतमा हुर्किएका कारण उनी बढीजसो हिन्दी बोल्थे, कि त मातृभाषा । ‘सुरुमा पढाउन धेरै गाह्रो भयो,’ मियाँले ती दिन सम्झिए, ‘पछि बानी लाग्दै गयो ।’ उनलाई नेपाली भाषा राम्ररी बोल्न करिब २ वर्ष लागेको थियो । 

उनले पढाउन सुरु गर्दा स्कुलको भवन थिएन । उनी आफैं पढेको समयमा त झनै बेहाल थियो । सामान्य टाँटीले बेरेर स्कुल सञ्चालन हुन्थ्यो । विद्यार्थीको ड्रेक्स, बेन्च थिएन । विद्यार्थी घरबाटै बोरा बोकेर आउँथे । भुइँमा ओछ्याउँथे । धूलोमा कखरा लेख्थे । 

मियाँका अनुसार रतुवामाई क्षेत्र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र थियो । कोइराला प्रधानमन्त्री भएपछि स्कुलको भवन निर्माणमा सहयोग भएको थियो । 

‘गिरिजाप्रसादले सहयोग गरेपछि मात्र पहिलो पटक पक्की भवन बनेको थियो,’ उनले भने । त्यहीबेला खरको छानो प्रतिस्थापन गरी जस्तापाता लगाइएको थियो । जस्तापाता हेर्नकै लागि मात्र पनि गाउँलेहरू स्कुलतर्फ आइरहन्थे । 

मियाँ ७ दाजुभाइमध्येका चौथो सन्तान हुन् । ३ दिदीबहिनीसमेत गरी परिवारमा १० जना सदस्य थिए । परिवारले उनलाई धेरै पढ्न कहिल्यै प्रोत्साहन गरेन । तर उनले आफ्नो चाहना पूरा गरिछाडे । उनी चार दशकदेखि पढाउनका लागि विद्यालय धाइरहेका छन् । विद्यालयमा अहिले ६ शिक्षक छन् । 

६ जनाले १ सय २५ विद्यार्थीलाई पढाउँछन् । सबैभन्दा पुराना शिक्षक उनै हुन् । मुस्लिम समुदायका विद्यार्थीको संख्या उनको स्कुलमा बढी छ । उनी कक्षा ४ र ५ लाई सामाजिक, २ र ३ लाई सेरोफेरो र कक्षा १ का विद्यार्थीलाई नेपाली पढाउँछन् । ‘अहिले त नेपाली पढाउन पहिलाजस्तो गाह्रो छैन,’ उनले हाँस्दै भने, ‘लय समातिसके ।’

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully