काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आम मानिसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गरी अघि बढ्न शुभेच्छा व्यक्त गरेका छन् । उनले प्रतिनिधिसभा बैठकलाई बिहीबार सम्बोधन गर्दै सरकारको चर्को आलोचना मात्र गरेनन्, तीतो यथार्थ स्वीकार गरी अघि बढ्न सुझाव समेत दिएका छन् ।
‘हुन त सरकारमाथिका हाम्रा रचनात्मक आलोचनालाई एक थरी साथीहरू सत्ताबाट बाहिरिनुको छटपटी भनेर सामान्यीकरण गर्न खोज्नुहुन्छ । जनताको आवाजलाई पनि सोसल मिडियाको विकृति भनेर पन्छिन सजिलो होला । तर, सत्तारुढ पार्टीहरूकै बैठकमा व्यक्त हुन थालेका असन्तोषलाई के भन्नुहुन्छ तपाईँहरू ? सरकारको प्रतिरक्षा गर्न दिनदिनै औपचारिक आदेश दिँदा पनि किन छैन माननीयहरुसाग मनोबल ?,’ उनले भनाइ थियो, ‘जनताप्रति सरकारको हदैसम्म गैर जिम्मेवारी तर बिचौलिया र स्वार्थ समूहको खुला तरफदारीले देश आक्रोशित छ । सत्तापक्षका मान्छेलाई कानुन मिच्न होइन, कानुन नै खान दिएको देखेर देश विचलित छ । उद्योगीबाट बिजुलीको अर्बौँ बक्यौता उठाउनै नखोजेको तर भुँइमान्छेका घरको लाइन काटेको देखेर रन्थनिएको छ देश । त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ, तर मलाई चिन्ता छ, भोलि त्यो सडकमा पोखिन सक्छ । यही सत्य स्वीकार गरेर सरकार सुध्रियोस्, ।’
उनले सरकारका गतिविधिले स्वार्थसमूहरु उत्साहित भएको दाबी गरे ।
‘सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर गइरहेको छ । सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगमा रमाइरहेको छ । अलिकति पनि लज्जाबोध नगरी स्वार्थसमूहहरुको, अझ माफियाहरूको सेवामा लागिरहेको छ । यसले जनतामा सरकारमात्र होइन, समग्र प्रणालीमाथि नै असन्तोष जगाइरहेको छ,’ उनले थपे, ‘पछिल्ला सात महिनामा जनताको आक्रोश ज्यामितीय रूपमा बढेको छ । सरकारको यो तहको बदनामी प्रतिपक्षी नेताका रूपमा मेरो सन्तोषको विषय हुनुपर्ने हो, तर म चिन्तित छु । म सरकारलाई यही रोष्टमबाट भन्न चाहन्छु, जनताका बीचमा अब सरकारको कुनै क्रेडिबिलिटी बाँकी छैन, कुनै विश्वास बाँकी छैन ।’
