सिरहा — सिरहाको गोलबजार नगरपालिका-४ स्थित जनता माध्यमिक विद्यालय (प्राविधिक)मा कार्यरत एक शिक्षिका विदेशमा भए पनि उनको नाममा तलबभत्ता निकासा गर्ने तीन जना कारबाहीमा परेका छन् ।
विद्यालयकी शिक्षिका बिमलाकुमारी झाको नाममा गैरकानुनी तरिकाले तलबभत्ता निकासा भएको समाचार सार्वजनिक भएपछि उक्त प्रकरणमा संलग्न तीन जनालाई गोलबजार नगरपालिकाले छानबिनमा तानेको हो ।
नगर शिक्षा समितिको बुधबार बसेको बैठकबाट शिक्षा शाखा प्रमुख सुबोधकुमार लामा, विद्यालयका प्रधानाध्यापक भरतप्रसाद साह र लेखा प्रमुख रामेश्वर साहको जिम्मेवारी खोसेर छानबिन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
पुरीका अनुसार बुधबारदेखि नै लागू हुनेगरी छानबिनको अन्तिम किनारा नलाग्दासम्म उनीहरूलाई नगरपालिकामा उपस्थित गराएर ठाडो हाजिरीमा राखिनेछ भने यो अवधिमा उनीहरूको तलबभत्ता पनि रोक्का रहनेछ ।
पछिल्लो करिब आठ महिनादेखि विद्यालयमा अनुपस्थित शिक्षिका झाको तलबभत्ता निकासामा शाखा प्रमुख, प्रअ र लेखा प्रमुखको मिलेमतो हुन सक्ने देखिएकाले तीनै जनाको जिम्मेवारी खोसिएको पुरीले बताए ।
शिक्षिका झा २०८१ जेठ १० देखि नै विद्यालयमा अनुपस्थित छिन् । बिदा स्वीकृत नभइकनै छोरी भेट्न अस्ट्रेलिया गएकी उनी अझै फर्केर आएकी छैनन् ।
तर, उनको नाममा २०८१ असोजसम्मको तलबभत्ता २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा भएको थियो ।
