कर्मचारीले आत्मरक्षाका लागि चलाएको गोलीले मर्‍यो मकुना

माघ २४, २०८१

रमेशकुमार पौडेल

Makuna was killed by a bullet fired by an employee in self-defense

चितवन — निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर जंगली हात्तीको मृत्यु भएको छ । चितवन निकुञ्ज कार्यालयका अनुसार गोली लागेर दाह्रा नहुने भाले जंगली हात्ती मकुना मरेको हो ।

कार्यालयले आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको र उक्त गोली लागेर मकुनाको मृत्यु भएको जनाएको छ । बुधबार दिउँसो साढे तीन बजे तिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा निकुञ्ज कर्मचारी र मकुनाबीच जम्काभेट भएको थियो ।

निकुञ्जका सुचना अधिकारी समेत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार उक्त हात्तीलाई निकुञ्जको भित्री इलाकामा पठाउन ५/६ वटा हात्तीमा निकुञ्जको पूर्वी सेक्टरका कर्मचारी र निकुञ्ज सुरक्षामा खटेको नेपाली सेनाको नयाँ गोरख गण 'क' गुल्म सौराहाका सेनाहरु दैनिक गस्ती गर्दै आएका थिए ।

‘मकुनाले गस्तीमा रहेको हात्ती चुरे गजलाई सिधै आक्रमण गर्न आयो । अन्य विकल्प नभएका कारण दुई राउण्ड हवाइ फायर भयो । त्यसपछि पनि हात्ती नभागेर आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तमाङ हात्तीबाट खसेका कारण ज्यानको सुरक्षा गर्न निकै कठिन भयो,' निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यो बेला थप तीन राउण्ड हवाइ फायर गरेको निकुञ्जले जनाएको छ ।

सो हवाइ फायरपछि मकुना हात्ती केही पर भागे पनि लगत्तै फर्केर आएको थियो । त्यसपछि एक राउण्ड गोली प्रहार गरेको निकुञ्जले जनाएको छ । त्यसपछि दिउँसो साढे एक बजे तिर ढलेको अवस्थामा भेटिएको हात्तीलाई दुई घण्टापछि पशु चिकित्सकको टोलीले मृत घोषणा गरेका हुन् ।

नेपालको भाले हात्तीको लामो दाह्रा हुन्छ । दाह्रा नहुने भाले जंगली हात्ती मकुना निकै नै कम हुन्छन् । नेपालमा निकै कम र भारतमा पनि केही मात्रामा मकुना भएको हात्ती विज्ञहरु बताउँछन् । यस्ता मकुना हात्तीहरु श्रीलंकामा भने प्रशस्त छन् । नेपालमा भारत हुँदै पूर्वी क्षेत्रमा मकुना आउने गरेको र तिनैमध्येको एउटा चितवनमा देखा परेको हात्ती विज्ञहरुको अनुमान थियो ।

गत वर्षको मंसिरमा मकुना चितवन कुमरोजमा देखा परेको थियो । यो वर्षको असोजदेखि मकुना निकुञ्ज आडको बस्ती सौराहा कुमरोज क्षेत्रमा देखा परेको थियो । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully