गठबन्धनको साख दाउमा : ५ अध्यादेशमा सहमतिको सम्भावना, भूमि अध्यादेशमा सकस

राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन सरकारलाई जसपा नेपालको साथ जरुरी, कार्यदल बनाएर अध्यादेश अध्ययन गरेको जसपा नेपालले बिहीबार निर्णय गर्दै

माघ २४, २०८१

जयसिंह महरा

Coalition credibility at stake: Chances of consensus on 5 ordinances, strong on land ordinance

काठमाडौँ — सरकारले ल्याएका ६ मध्ये कम्तीमा एउटा अध्यादेश संसद्बाट अस्वीकृत हुने सम्भावना देखिएको छ । कांग्रेस–एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशमा विमति जनाइरहेको छ । अन्य पाँच अध्यादेशमा भने समर्थन गर्ने संकेत जसपा नेपालले गरेको छ ।

अध्यादेश पारित गराउन प्रतिनिधिसभामा सत्तारूढ कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ भने राष्ट्रिय सभामा बहुमत पुर्‍याउन जसपा नेपालको साथ चाहिन्छ । संघीय संसद्का दुवै सदनबाट स्वीकार नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ ।

सरकारले सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, निजीकरण (पहिलो संशोधन), आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको छ ।

अध्यादेश अध्ययनका लागि जसपा नेपालले प्रथम उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको छ । कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी संसदीय दलको बिहीबार बस्ने बैठकमा पेस गर्ने तयारी छ ।

संसदीय दलमा बुझाएपछि मात्रै प्रतिवेदन सार्वजनिक गरिने संयोजक यादवले बताए । ‘गुण र दोषका आधारमा यसरी गलत छ, यसरी सही छ भनेर कार्यदलले प्रतिवेदन दिने हो । सबै अध्यादेशमा दोष छन् । कुनैमा प्रतिस्थापन विधेयकमार्फत सच्याउने स्थिति छ भने केही सुधार्ने स्थिति नै छैन,’ उनले भने । यादवका अनुसार कार्यदलले गरेको छलफलमा कुन अध्यादेश आवश्यकताका आधारमा ल्याइएको हो र कुन अध्यादेशमा कमजोरी छ भन्ने विषयमा विज्ञहरूले धारणा राखेका थिए । केही अध्यादेश अस्वीकार नै गर्नुपर्ने धारणा विज्ञबाट आएको उनको भनाइ छ ।

सत्तारूढ दल भने अध्यादेश पारित हुने विश्वासमा छ । राष्ट्रिय सभामा सत्तापक्षका नेता कृष्णप्रसाद सिटौलाले अध्यादेशका पक्षमा बहुमत पुग्ने दाबी गरे । ‘सबै राजनीतिक दलसँग कुराकानी भइरहेको छ । आवश्यकताका आधारमा अध्यादेश ल्याइएका हुन् । यसअघि अध्यादेश विरलै मात्र अस्वीकार हुने गरेकाले यी अध्यादेश पनि पारित हुन्छन्,’ उनले भने ।

राष्ट्रिय सभामा एमाले संसदीय दलकी नेता भगवती न्यौपानेले जसपा नेपालका सांसदहरू सम्पर्कमा नै रहेकाले अध्यादेश पारित हुने बताइन् । ‘जसपा नेपालका नेताहरूबाट सकारात्मक कुरा आएको छ । पार्टीमा केही विषयमा छलफल गर्नुपर्नेछ भनेर उहाँहरूले भनिरहनुभएको छ । उहाँहरू सत्तापक्षमा नै हो र सदनमा पनि सत्तापक्षको सिटमा नै बसिरहनुभएको छ,’ उनले भनिन्, ‘अध्यादेश स्वीकृत हुन्छ भन्नेमा हामी ढुक्क छौं ।’

राष्ट्रिय सभामा ५९ सांसद छन् । अध्यादेश स्वीकार गर्न बहुमत अर्थात् कम्तीमा ३० सांसदको साथ चाहिन्छ । राष्ट्रिय सभामा अध्यादेशको पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् । विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् ।

अध्यादेश स्वीकार कि अस्वीकार गर्ने निर्णय लिन बाँकी जसपा नेपालका ३ सांसद छन् । जसपा नेपालले स्वीकार गर्ने निर्णय लिए अध्यादेशमा बहुमत हुनेछ भने अध्यादेश अस्वीकार गर्ने पक्षमा जसपा उभियो भने दुवैतिर समान २९–२९ सांसद हुनेछन् । त्यस्तो अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मत दिनुपर्ने हुन्छ । दाहाल राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । उनी विगतमा माओवादी केन्द्रका नेता थिए ।

संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन गत शुक्रबार नै सरकारले ६ अध्यादेश पेस गरेको थियो । ती अध्यादेश दुवै सदनको बिहीबारको बैठकमा प्रस्तुत गर्ने तयारी छ । त्यसपछि अध्यादेशमा विरोधको सूचना दर्ता गराउने सांसदले कारण राख्नेछन् । त्यसमा अध्यादेश प्रस्तुत गर्ने मन्त्रीले जवाफ दिनेछन् र विरोधको सूचना समूहगत रूपमा निर्णयार्थ प्रस्तुत गरिनेछ । अध्यादेशविरुद्ध दर्ता भएको विरोधको सूचनाको पक्षमा बहुमत पुग्यो भने त्यो अध्यादेश अल्पमतमा पर्नेछ । अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुने समयमा सबै सांसदलाई अनिवार्य उपस्थित हुनका लागि एमाले र कांग्रेसले ह्विप जारी गरेका छन् ।

जसपा नेपालले मुख्यगरी भूमिसम्बन्धी अध्यादेशमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाउँदै आएको छ । निकुञ्ज र वन क्षेत्रको जग्गासमेत व्यक्तिलाई दिन सकिने कानुनी व्यवस्था गरिएकाले उक्त अध्यादेशमा आशंका रहेको नेताहरूले बताएका छन् । अध्यादेशमा घरजग्गाको कारोबारदेखि अपार्टमेन्ट, हाउजिङलगायत विषयसमेत जोडिएकाले सार्वजनिक चासोसमेत छ ।

प्रतिनिधिसभाको अर्थ समितिमा रहेको विधेयक फिर्ता नहुँदै अध्यादेश ल्याइएको भन्दै जसपा नेपालले प्रक्रियाको पनि विरोध गरेको छ । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ अर्थ समितिमा विचाराधीन रहेकै बेला सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ ल्याएको हो । जसपाका एक नेताले भने, ‘अध्यादेशबाट देश चलाउनु हुँदैन भन्ने पार्टीको मत हो । हाम्रो पार्टीसँग सल्लाह गरेर अध्यादेश ल्याइएको पनि होइन । यसरी अध्यादेश ल्याउने प्रवृत्तिलाई बढावा दिनु हुँदैन । सरकारले नगरी नहुने कामका लागि मात्र संविधानमा अध्यादेश ल्याउने व्यवस्था गरिएको हो ।’

जसपा नेपालका अर्का सांसदले भूमिसम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर मतभेद रहेको बताए । अरू अध्यादेशमा गरिएका व्यवस्था प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्न सकिने भए पनि भूमि अध्यादेशमा त्यो सम्भावना न्यून रहेको उनले बताए । कार्यदलमा रहेका ती सांसदका अनुसार तराई–मधेशमा स्थापित बिटौरी बजारका बारेमा अध्यादेशमा कुनै व्यवस्था गरिएको छैन ।

विज्ञहरूले भने चुरेमा बस्ती बसाल्ने उद्देश्यका साथ भूमि अध्यादेश ल्याएको भनेर ‘ब्रिफिङ’ कार्यदलमा गरेका थिए । ‘राजविराज जस्ता बिटौरी बजारका घर धितो राख्ने र ऋण लिन सक्नेसम्मको व्यवस्था यो अध्यादेशले गरेको छैन । त्यस्ता थुप्रै बजार छन् । मान्छे पहाडबाट ओर्लेर राजमार्गमा जंगल फडानी गरी बसेका छन् । त्यसका लागि सोच्ने तर उता नसोच्ने ! चित्त बुझेको छैन,’ ती सांसदले भने, ‘आर्थिक विधेयक, सहकारी विधेयक सकारात्मक छन् । प्रतिस्थापनमा संशोधन गर्न सकिने भएकाले बाँकीमा अनुमति दिन्छौं । त्यसका लागि पनि सरकारले कुरा गर्नुपर्‍यो ।’

भूमि अध्यादेशमा निजी पोखरीका विषयलाई पनि गम्भीर रूपमा सम्बोधन गरिनुपर्ने माग जसपा नेपालभित्र उठेको छ । पहिलेका निजी पोखरीलाई अहिले स्थानीय तहले सार्वजनिक भनिरहेको अवस्थामा अध्यादेशले सम्बोधन नगरेको जसपा नेपालका सांसदहरूको भनाइ छ । ‘भूमिसम्बन्धी अध्यादेशमा चुरेमा बस्ती बसाउने कुरा छ । चुरेमा बस्ती बसायो भने सडक बनाउनुपर्‍यो, विकास गर्नुपर्‍यो । त्यसका लागि डोजर चल्छ अनि मधेश मरुभूमि हुन्छ । मधेश नै रहेन भने हामी सुकुम्बासी हुन्छौं,’ ती सांसदले भने ।

प्रतिनिधिसभामा एमालेका मुख्य सचेतक महेश बर्तौलाले अध्यादेशका विषयमा सत्तारूढ दलमा कुनै मतभेद नरहेको उल्लेख गर्दै सत्तापक्षमा बसेका सबै सांसदले सरकारको पक्षमा हात उठाउने दाबी गरे । ‘दुवै सदनमा अध्यादेश स्वीकार गर्न असहज छैन,’ उनले भने, ‘सरकारमा रहेका दलमध्ये कुनैले सहयोग गर्दैन कि भन्ने बाहिर चर्चा छ, त्यसमा कुनै सत्यता छैन । दुवै सदनबाट सबै अध्यादेश पारित हुन्छन् ।’

अध्यादेशमा गरिएका व्यवस्थामा दलहरूका असहमति रहे प्रतिस्थापन विधेयकमा मिलाइने पनि उनको भनाइ छ । ‘अध्यादेश स्वीकार भएपछि प्रतिस्थापन विधेयकमा एमाले र कांग्रेसकै सांसदले संशोधन राख्न सक्नुहुन्छ, प्रतिपक्षका सांसदले राखेका संशोधन पनि स्वीकार गरिन्छ,’ उनले भने, ‘सत्तापक्षमा नै आशंकापूर्ण राजनीति भयो ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशको पक्षमा उभिने वा विपक्षमा उभिने औपचारिक निर्णय गर्न बाँकी रहेको बताए । ‘सबै कुरा छलफलको क्रममा छ । अध्यादेश अध्ययन कार्यदलले भोलि (बिहीबार) बिहान ९ बजे प्रतिवेदन बुझाउँछ । ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिन्छ,’ उनले भने । अध्यादेश स्वीकार भए संघीय संसद्को अधिवेशन बसेको ६० दिनभित्र दुवै सदनबाट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully