काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्थतन्त्र निरन्तर कमजोर भएको दाबी गरको छन् । बिहीबार संसद्मा बोल्दै दाहालले अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा सरकार अग्रसर रहेको आरोप लगाएका हुन् ।
‘सरकारले चालु वर्षको खर्च र राजश्वको लक्ष्य पूरा गर्न सक्नेछैन । यो विपक्षले लगाएको आरोप होइन, तपाईंकै अर्थ मन्त्रालयको समीक्षापूर्ण निष्कर्ष हो । ६ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको छ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब पुगेको छ,’ उनले भने, ‘गत वर्षको ६ महिनामा २२.२ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स यस वर्षको सोही अवधिमा ४.१ प्रतिशत मात्र छ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेको छ । यसले देखाउँछ, सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ ।’
आफूले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको, खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको छ, जबकि मैले छोड्दा यो दर ४.०४ प्रतिशत मात्र थियो । श्रमिक तथा कामदारले आफ्नो ज्यालामा २.८५ प्रतिशत मात्र वृद्धि पाएका छन्, तर महँगीको दर झण्डै ३० प्रतिशत पुगेको प्रधानमन्त्री दाहालले बताए ।
‘छ महिनाअघि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा २.६ प्रतिशतले वृद्धि भइरहेको थियो, अहिले घटेर १.२ प्रतिशतमा सीमित भएको छ । मेरो नेतृत्वमा ३ सय ७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २ सय ३९ अर्बले मात्र बढेको छ । प्रधानमन्त्रीजीलाई मेरो प्रश्न छ– यो तथ्यांकले वित्तीय प्रणालीप्रति आम नागरिकको विश्वास घटेको देखाउँछ कि बढेको देखाउँछ ?,’ उनी थप्छन्, ‘अहिलेसम्म समग्र पुँजीगत खर्च जम्मा १६ प्रतिशत छ । यो पनि विपक्षको आरोप वा अनुमान होइन, अर्थ मन्त्रालयकै प्रतिवेदन हो । मन्त्रालयले न पुरानो ठेक्काको भुक्तानी दिन सकेका छन् न नयाँ आयोजनाको ठेक्का लगाउन सकेका छन् । भौतिक, सहरी, खानेपानी जस्ता पूर्वाधार निर्माणका मन्त्रालयहरुको प्रगति २० प्रतिशत पनि पुग्न सकेको छैन ।’
सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको भारी बोझ थपिरहेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा पेश हुँदा छ महिनामा नेपाल त युरोपकै छेउछाउ पुगिसक्यो भन्ने आवास भइरहेको उनले आरोप लगाए ।
