पोखरा — म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ ठगीको आरोप लागेका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापासहित ५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
सहकारीका पूर्वउपाध्यक्ष थापासहित मनप्रसाद थजाली, थमबहादुर गर्बुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले बिहीबार अनुमति दिएको हो ।
सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरू पाँचै जना आइतबार पक्राउ परेका हुन् । गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराले गत माघ १८ मा जिल्ला प्रहरी म्याग्दीलाई पत्र पठाएर अनुसन्धान गर्न भनेको थियो । सहकारी रजिस्ट्रार कार्यालयले एक वर्षअघि छानबिन गर्दा पूर्वउपाध्यक्ष थापाको योजनामा डेढ अर्ब बचत रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो । थापासहितले सहकारीको रकम निजी स्कुल, घरजग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ । एमाले नेतासमेत रहेका थापा राजनीतिक पहुँचका भरमा जोगिँदै आएका थिए ।
०६५ मा खुलेको उक्त सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए । थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडमीमा कुमारी सहकारीबाट बिनाधितो १६ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो । थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड लगेर पर्वतको जलजलामा घडेरी कारोबार गरेको पनि प्रतिवेदनमा छ । सहकारीका सञ्चालक समिति पदाधिकारीले आफ्नो परिवारका नाममा सहकारीको अधिकांश सेयर राखेको पाइएको छ । ४ हजार ३ सय ८६ जना बचतकर्ता रहेका यो सहकारीमा ४ सय १८ जना मात्र सेयर सदस्य रहेका छन् ।
कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिनामा छानबिन थालेको जिल्ला प्रहरी म्याग्दीले सर्वसाधारण बचतकर्तालाई प्रमाणसहित रकम दाबी गर्न आउन सूचना निकालेको छ । सूचना जारी भएपछि बचतकर्ताहरू प्रमाणसहित कार्यालयमा आइरहेको जिल्ला प्रहरी म्याग्दीका सूचना अधिकारी इन्स्पेक्टर सागर पौडेलले बताए । ‘रकम दाबी गर्न आएपछि अनुसन्धान प्रक्रिया पनि सजिलो हुन्छ,’ उनले भने ।
