सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशन सुनील पौडेलसहित दुई जनाविरुद्ध मुद्दा
काठमाडौँ — सूचना प्रविधिसम्बन्धी उपकरण खरिदमा ठेकेदारबाट घुस लिएको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
केन्द्रका लागि आव २०७४/७५ को उपकरण खरिदका क्रममा घुस लिएर मिलेमतोमा ठेक्का लगाएको अभियोगमा पौडेलविरुद्ध अख्तियारले ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पौडेल नेपाल टेलिकमका निवर्तमान प्रवन्ध निर्देशक हुन् । उनी भ्रष्टाचार मुद्दामै यसअघि विशेष अदालतबाट दोषी ठहर भई कारागारमा छन् । नेपालमा भ्रष्टाचार गरी अवैध धन सिंगापुरको बैंकमा लगेर जम्मा गरेको भेटिएपछि उनी र सुरक्षण मुद्रणकै कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
त्यसपछि दुवै निलम्बनमा परेकामा दुवै पदमुक्त भइसकेका छन् । दुवै जना यस मुद्दामा दोषी ठहर भएर हाल कारागारमा छन् । पौडेल टेलिकममा प्रबन्ध निर्देशक भएपछि त्यस ठाउँमा विकल पौडेल नियुक्त भएका थिए । बिहीबार दायर मुद्दामा आव २०७४/७५ को ठेक्का घुस दिएर हत्याएको अभियोगमा अख्तियारले नेपालका लागि एफ–५ सिस्को कम्पनीका प्रतिनिधि भारतीय नागरिक दीपक आनन्दलाई पनि प्रतिवादी बनाएको छ ।
दुवै प्रतिवादीलाई घुस लेनदेन भएको रकम बराबरकै समान बिगो कायम गरी सजाय मागदाबी गरिएको छ । केन्द्रको कार्यकारी निर्देशकका रूपमा कसुर गरेकामा अख्तियारले पौडेलले थप सजायको पनि मागदाबी लिएको छ । अख्तियारले घुस रकम प्रतिवादीबाट असुलउपर गर्न पनि मागदाबी लिएको छ । उपकरण खरिदका लागि भ्याटबाहेक १२ करोड ८२ लाख ४० हजार रुपैयाँ बराबरको ठेक्का लगाइएको थियो ।
उपकरण खरिदका लागि मिलेमतोमा पूर्वनिर्धारित मूल्यमा लागत अनुमान तयार गर्ने/गराउने गरी केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल र भारतीय नागरिक आनन्दबाट तीनवटा कम्पनीहरू इन्स्टासेफ टेक्नोलोजिज प्रालि, बैंलोर (भारत), एक्स्क्लुसिभ नेटवर्कस् एसिया प्रालि सिंगापुर र टेकडाटा प्रालि सिंगापुरबाट कोटेसन प्राप्त गरेको देखाई सोही अनुसार पहिले नै तोकिएको निश्चित कम्पनीलाई ठक्का दिलाउन घुस लेनदेन भएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । सोही तथ्य र प्रमाणका आधारमा अख्तियारले घुस कारोबार/लेनदेनमा संलग्न पौडेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको हो ।
मिलेमतोमा ठेकेदार कम्पनी छनोट गर्नकै लागि पौडेलले आफू मातहतका कर्मचारीहरूबाट टेक्निकल स्पेसिफिकेसन तयार पार्न लगाएर आफैंले लागत अनुमान स्वीकृत गरेको पनि भेटिएको छ । सोही मिलेमतोमा पौडेलले केन्द्रका लागि उपकरण किन्न एफ ५ सिस्को र इन्स्टासेभ सिंगापुरबाट उपकरण ल्याउने गरी अस्ट्रल कम्प्युटर्स नेपाल प्रालिमार्फत ठेक्का लगाएका थिए ।
घुस संवादमै खरिद गर्ने उपकरणको मूल्यसूची तयार पार्ने र त्यस अनुसार लागत अनुमान तयार पारी आफूले चाहेका ठेकेदारलाई सोही अनुसार ठेक्का रकम कबोल गर्ने विषय पनि घुस संवादबाटै टुंग्याइएको भेटिएको छ । त्यसका लागि कुन उपकरणमा कति रकम कबोल गर्ने भन्ने पहिल्यै टुंगो लगाइएकमो देखिन्छ । त्यसकै आधारमा मिलेमतोमा छानिएको कम्पनीलाई अरुभन्दा १ प्रतिशत कम कबोलमा ठेक्का हाल्न लगाउने सम्मका सेटिङ पहिल्यै टुंग्याइएको देखिन्छ ।
त्यसबापत पौडेलले ठेकेदारबाट २ लाख ८० हजार अमेरिकी डलर घुस लिएका थिए । त्यस बेलाको विनिमय दरअनुसार घुस ३ करोड ८ लाख ५० हजार ४ सय बराबर हुन आउने अख्तियारद्वारा विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । उपकरण खरिद ठेक्कामा प्रतिवादी सुनील पौडेललाई दिइएको घुस रिसवत र नेपाली बोलपत्रदाता अस्ट्रल कम्प्युटर्सको मार्जिन ५.७२ प्रतिशतसमेत गरी १२ करोड ८२ लाख ४० हजार (भ्याटबाहेक) प्रतिवादी सुनील पौडेलले अस्ट्रल कम्प्युटर्सलाई भुक्तानी दिई उक्त भुक्तानी प्राप्त भएपछि अस्ट्रलले आफ्नो मार्जिन ५.७२ प्रतिशत राखी बाँकी एलसी खोलेर अमेरिकी डलर १० लाख ५३ हजार ६ सय ४ अमेरिकी डलर युनिभर्सल प्रोक्रुमेन्ट सिस्टम प्रालि सिंगापुरमा पठाएको थियो । त्यही रकममध्येबाट पौडेलले घुसबापत सिंगापुरबाटै अख्तियारले बिगो कायम गरे बराबरको रकम बुझेको खुलेको हो । घुस लेनदेनबारे पौडेल र भारतीय नागरिक आनन्दबीचको संवाद पनि अख्तियारले अनुसन्धानका क्रममा फेला पारेको हो । अख्तियारको अभियोगपत्रअनुसार पौडेलले सन् २०१८ अगस्ट १० (२०७५ साउन २५) मा घुस लेनदेनको विषय टुंग्याएका थिए ।
