दाहालको प्रश्न : कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ?

'के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ?'

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Dahal's question: Like Oliji, does the Congress want a question-free and conscience-free Nepal?

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार कांग्रेसले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा मौन बसेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुने खालको विधेयक आउँदा पनि कांग्रेस नबोलेको भन्दै आलोचना गरेका हुन् ।

अध्यक्ष दाहालले कांग्रेस नेताहरूको विवेकमाथि पनि प्रश्न उठाए । उनले प्रधानमन्त्री केपी ओलीले विरोध सहन नसक्ने भए पनि कांग्रेसमा भने त्यस्तो किन भयो भनेर प्रश्न गरे ।

‘प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटक-पटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ । त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ । यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ,' उनले भने ।

कांग्रेसलाई प्रश्न गर्दै अध्यक्ष दाहालले सोधे, 'के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईंहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईंहरुको वैचारिकी ?'

माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने कांग्रेस नेताहरुको अहिले बोलि फेरिएको उल्लेख गर्दै उनले भने, ‘ कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरूले धेरै ताली खाए । पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुईवटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए । देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईंहरूले नयाँ सत्ता गठबन्धन गर्नुभयो । तर, गत स्थानीय निकायको उपचुनावमा के भयो ? दुई ठूला दलबीच नै गठबन्धन भयो । गठबन्धनमात्र होइन, तपाईंहरूले एकअर्कालाई आफ्ना चुनावचिह्न भाडामा पनि दिनुभयो ।  एउटा पार्टीको नेता अर्को पार्टीको चिन्हमा पनि चुनाव लड्नुभयो ।’

कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर यसपटक कतै नसुनिएको टिप्पणी गर्दै अध्यक्ष दाहालले भने, ‘पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो । तपाईंहरुलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ । सकियो त ? सकिएन बरु लगभग पहिलो पार्टीका रूपमा पुनरोदय भयो ।’

कान्तिपुर

Link copied successfully