काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशीतालाई संशोधन गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले दुई दलीय व्यवस्था ल्याउन कल्पना नगर्न आग्रह गरे ।
‘कांग्रेस र एमालेका केही नेताले यसबीचमा अब देश दुई दलीय बनाइन्छ भनेर अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो । म ती नेताहरूलाई सोध्छु, आज देश बहुदलीय भएको तपाईँहरूको दया मायाले हो ? तपाईँको करुणाले बनेको हो नेकपा (माओवादी केन्द्र) ? तपाईँले दयाले खोलिदिएको हो कुनै बेलाको मधेसी जनअधिकार फोरम ? तपाईँहरूले बक्सिस् दिएर आएको हो, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट ?,’ उनले प्रश्न गरे, ‘तपाईँले चाहेर बनेको हो, सिके राउतजीले नेतृत्व गरेको जनमत पार्टी ? तपाईँहरू चाहनुहुन्थ्यो त यो संसद्मा नागरिक उन्मुक्ति पार्टीको उपस्थिति ?’
उनले सत्ता गठबन्धनले दम्भ देखाउने हो भने राष्ट्रिय पार्टी हुन अहिलेकै थ्रेसहोल्ड भारी हुने बताए । ‘कुनै बेला सोह्र वर्षमा पन्ध्र सरकार बनाएर कीर्तिमान कायम गरेका तपाईँहरूले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशीतालाई संशोधन गर्न त परेको कुरा, छुन पनि सक्नुहुन्न । यो मेरो खुला चुनौती भयो,’ दाहालको भनाइ थियो, 'दलित, महिला, मधेसी, आदिवासी, जनजाति, थारुलगायत उपेक्षित, उत्पीडित वर्गले पाएको अहिलेको अधिकार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना पार्टीहरूका स्थापना दिवसमा उपहार दिएका होइनन् ।’
उनले ‘सम्मानपूर्ण समानुपातिक प्रतिनिधित्व र समावेशिता उत्पीडित वर्गले आफ्नै रगत बगाएर ल्याएको’ बताए । ‘सीमान्त वर्गको आत्मसम्मान र प्रतिनिधित्व खोस्न अब सम्भव छैन । भोलि माओवादीको एकै सिट मात्र बाँकी नरहे पनि तपाईँहरू अब पुरानो ठाउँमा फर्किन सक्नुहुनेछैन,’ उनले थपे, ‘तपाईँहरू पहिला आ–आफ्नै पार्टीभित्रका सरोकारवाला सम्हालेर देखाउनोस् अनि हामीसँग कुरा गर्नुहोला । दलहरुबीच आजसम्मका ऐतिहासिक र युगान्तकारी सहमतिहरू मिचेर संविधान संशोधनका नाममा राष्ट्रलाई नचाहिने द्वन्द्वतिर लैजाने चेष्टा नगर्नोस् ।’
