संसद् अधिवेशनको मिति टुंगो लागेपछि अध्यादेशको बाढी लाग्यो : पाण्डे

माघ २४, २०८१

कान्तिपुर संवाददाता

After the date of the Parliament session was decided, there was a flood of ordinances: Pandey

काठमाडौँ — संघीय संसद्को अधिवेशन आह्वान गरिसकेपछि सरकारले अध्यादेश ल्याएको एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले बताएका छन् । उनले सरकारका काम-कारबाहीले निरंकुशताको गन्ध सुरु भएको आरोप पनि लगाए । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद पाण्डेले कस्तो बेला अध्यादेश ल्याउने भन्ने ख्याल सरकारले नगरेको बताए । संविधान अध्यादेश ल्याउने अधिकार सरकारलाई दिएको तर समयबारे भने ख्याल राख्नुपर्ने उनको भनाइ थियो ।

‘संसद् अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको छ । वास्तवमा अध्यादेश सरकारले ल्याउन पाउँछ, संवैधानिक व्यवस्था पनि छ । तर कस्तो बेलामा अध्यादेश ल्याउने भन्ने विशेष परिस्थिति जतिबेला संसद्को बैठक तत्काल हुने अवस्था छैन, कानुन नभएको कारणले गर्दा कतिपय काममा बाधा परेको छ, त्यतिबेला मात्रै अध्यादेश ल्याउने गर्दछौँ,' पाण्डेले भने, 'हामीसँग दुई तिहाइ छ, सत्ता पक्षका सांसदले पनि बेलाबेलामा बोलेको देखिन्छ, दुई तिहाइ भएपछि हामीले जे-जे गरे पनि हुन्छ, यो अध्यादेश ल्याएपछि अक्षरशः पास गर्न सकिन्छ र अध्यादेशका जतिसुकै नकारात्मक कुरा भए पनि पास गराउन सक्छौँ, सांसदको कुनै भूमिका हुँदैन, ह्वीप लगाएर भए पनि पास गराउन सक्छौँ भन्ने मकसदका साथ सरकार देखापरेको छ ।'

सरकारका काम लोकतान्त्रिक नभएको पनि सांसद पाण्डेको भनाइ थियो । सत्तारुढ कांग्रेस र एमालेले तानाशाही प्रवृति सुरु गरेको उनले बताए । सरकारका पछिल्ला कामबाट 'निरंकुशताको गन्ध' आएको बताउँदै उनले भने, 'दुईदलीय तानाशाही सुरु हुने प्रपञ्च देखिन्छ ।' सत्ता पक्ष र दुईतिहाइको दम्भ विभिन्न घटनाक्रममा देखिन थालेको उनको भनाइ थियो ।   

कान्तिपुर

Link copied successfully