काठमाडौँ — अमेरिकाबाट फर्काइएका ११६ आप्रवासी भारत आइपुगे, थुनछेक बहसपछि रवि लामिछाने प्रहरीको जिम्मामा, नागरिकता र लालपुर्जा नभए पनि सुस्तामा विद्युत् मिटर जडान हुनेदेखि गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोधसम्मका खबर आज चर्चामा रहे ।
000
अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको जहाज विमान अवतरण गरेको छ । अमेरिकी सेनाको उक्त जहाज पञ्जाब प्रान्तको अमृतसरस्थित श्री गुरू रामदास जी अन्तराष्ट्रिय विमास्थलमा अवतरण गरेको हो । अमेरिकी सेनाको विमानबाट १ सय १६ आप्रवासी भारत आइपुगेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । तीमध्ये २५ महिला र १२ बालबालिका रहेका जनाइएको छ । विमानमा ११ चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू रहेका छन् ।
000
रवि लामिछानेलाई बुधबारको बहसपछि प्रहरीको जिम्मा लगाइएको छ । आज बहस नसकिएको हुँदा भोलि बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय चितवन पठाएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।
000
पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले नागरिकता र लालपुर्जा नभए पनि विद्युत् जडान गर्न पाउने भएका छन् । सुस्ता गाउँपालिका वडा नम्बर-५ सुस्ता बस्तीमा १ हजार ५ सय ७१ मिटर लामो झोलुङ्गे पुलबाट राष्ट्रिय प्रशारण लाइन पुगे पनि लालपुर्जा र नागरिकता नहुँदा अधिकांश सुस्ताबासीले विद्युत् मिटर जडान गर्न पाएका छैनन् ।
000
गाजा नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । प्यालेस्टिनी समूह हमास, प्यालेस्टाइन, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्की लगायतका देशले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् ।
000
स्टेर कालिस र फेब मोलकेनबोइरले कीर्तिमानीयुक्त शतकीय साझेदारी गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० क्रिकेट शृङ्खलामा बुधबार नेपालमाथि १० विकेटको विजय हात पारेको छ । कालिस र मोलकेनबोइरको सानदार ब्याटिङमा नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ४६ रनको लक्ष्य २ बल अगाडि १ सय ५१ रन बनाउँदै पूरा गरेको थियो ।
