झापामा गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारी नियन्त्रणमा

माघ २३, २०८१

विवेक पोख्रेल

Two Indian drug dealers arrested after shooting in Jhapa

काठमाडौँ — झापा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। कन्काई नगरपालिका–४ स्थित भित्री सडकखण्डको कुमरखोदबाट सुरुङगातर्फ जाँदै गरेको अवस्थामा मंगलबार राति प्रहरीले भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलमलाई गोली चलाएर पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीहरूले बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेका थिए । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले रोकेर जाँच गर्ने क्रममा चालकसमेत रहेका अन्जर आलमले मोटरसाइकलको गति बढाएर चेकिङमा खटिएका प्रहरीलाई ठक्कर दिई भागेपछि गोली चलाउनु परेको चन्दले बताए ।

‘चार राउन्ड हवाई फायर गर्दा समेत नकोकिएपछि मोटरसाइकल चालक अन्जार आलमको घुडाामुनी थप एक गोली प्रहार भएको थियो,’ चन्दले भने । उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३० ग्राम ६९० मिलिग्राम बरामद गरेको छ। घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरबाट अहिले कोशी अस्पताल लगिएको छ । उनको अवस्था सामान्य रहेको चन्दले बताए।  चन्दका अनुसार उनीहरूले भारतबाट नियमित रूपमा नेपालमा लागूऔषधको कारोबार गर्दै आएका थिए । 

मंगलबार एकैदिन देशभरबाट ११ लागूऔषधसहित पक्राउ

भारतका आलम दाजुभाइसँगै प्रहरीले देशका विभिन्न स्थानबाट मंगलबार प्रहरीले  ११ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट लागूऔषध ट्रामाडोल ४७ पिससहित कैलाली लम्कीचुहा नगरपालिका रोशन रावल, सप्तरी सप्तकोशी नगरपालिकाबाट २ किलोग्राम गाँजासहित निराजन यादवलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकबाट ब्राउन सुगर २० ग्राम ४ सय मिलिग्रामसहित पदमबहादुर मगर, कोशी गाउँपालिका-१ स्थित सडकबाट ब्राउनसुगर २ ग्राम ४ सय १० मिलिग्रामसहित रोहितकुमार मण्डल, कपिलवस्तु कृष्णनगर नगरपालिका –२ बाट ब्राउन सुगर ८ सय २० मिलिग्रामसहित मतिउल्ला मुसलमान र मैराज अहमद पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, कैलाली टीकापुर नगरपालिका १ खडक चोकबाट खैरो हेरोइन ८० मिलिग्रामसहित अंकित चौधरी , दाङ घोराही उपमहानगरपालिका-१५ भीमसेन टोलबाट ब्राउनसुगर १ ग्राम ८ सय ४० मिलिग्रामसहित टेकराज गुरूङ र तनुज श्रेष्ठलाई पनि प्रहरीले मंगलबार नै पक्राउ गरेको  थियो । फरक-फरक घटनामा पक्राउ परेका उनीहरूविरुद्ध थप अनुसन्धान चलाइएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दियो ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully