सिटौलाले मंगलबार सभापति देउवालाई पोखरा जानुअघि निवासमै पुगेर र पोखरामा रहेका उपसभापति खड्कालाई फोनबाट गम्भीर आपत्ति जनाए
काठमाडौँ — कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरूको मंगलबार पोखरामा सुरु प्रशिक्षणमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै केही पूर्वपदाधिकारीले आपत्ति जनाएका छन् । राष्ट्रियस्तरको भेला र कार्यक्रममा सिंगो केन्द्रीय कार्यसमिति उपस्थिति हुने परम्परा तोडेर केन्द्रीय पदाधिकारीले आफूखुसी कार्यक्रम आयोजना गरेको र दलका वरिष्ठ नेताहरूलाई समेत उपेक्षा गरिएको आरोप उनीहरूले लगाएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको राष्ट्रियस्तरको उक्त प्रशिक्षण कार्यक्रममा कांग्रेस नेता शेखर कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताहरू उपस्थित छैनन् । उनीहरूलाई कार्यक्रममा बोलाइएकै छैन ।
१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत ल्याएका संस्थापन इतरपक्षका नेता शेखर कोइरालाले आफूलाई आमन्त्रण नगरिएको बताए । ‘जिल्ला सभापतिको राष्ट्रिय भेला गरियो तर मलाई कसैले जानकारी गराएन, आउनुपर्छ पनि भनेनन्,’ उनले कान्तिपुरसँग भने, ‘नबोलाएको कार्यक्रममा जाने कुरै भएन ।’
शेखरनिकट केन्द्रीय सदस्य हृदयराम थानीले कांग्रेसभित्र ४० प्रतिशतको हिस्सा लिएका समूहको नेतालाई उपेक्षा गरिनुले राम्रो सन्देश नगएको बताए । ‘शेखर कोइरालालाई नबोलाएका हुन भने गलत भएको छ, यसले पार्टी संगठनलाई राम्रो गरेन । सिंगो पार्टीको कार्यक्रम बनाउन सक्नुपर्दथ्यो, त्यो भएको देखिएन,’ थानीले भने, ‘पोखरामा जे कार्यक्रम गरियो, त्यसको स्वामित्व लिने कुरामा पनि समस्या आउन सक्छ ।’
पूर्वउपसभापति सिंह र निधि १४ औं महाधिवेशनमा देउवा र शेखरसँगै सभापतिमा प्रतिस्पर्धा गरेका नेताहरू हुन् । सिटौला भने १३ औं महाधिवेशनका प्रतिस्पर्धी हुन् । १३ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको र १४ औं महाधिवेशनको चुनावमा सिटौलाले देउवालाई समर्थन गरेका थिए । अर्का पूर्वमहामन्त्री शशांक कोइराला आफ्नै दाजु शेखरलाई समर्थन नगरेर देउवाको पक्षमा लागेका थिए । यी सबै नेतालाई देशभरका सभापति र उपसभापतिको राष्ट्रिय भेलामा नबोलाइएपछि उनीहरू नेतृत्वप्रति क्रुद्ध छन् ।
सिटौलाले जिल्ला सभापति र उपसभापतिको राष्ट्रियस्तरको भेलामा सिंगो केन्द्रीय कार्यसमितिको उपस्थित हुने परम्परा तोडेर कार्यक्रम गरिएकोप्रति आफूलाई दुःख लागेको बताए । ‘केन्द्रका पदाधिकारी, प्रदेशका पदाधिकारी र जिल्लाको पदाधिकारीको भेला हुने कार्यक्रममा केन्द्रीय कार्यसमितिलाई उपस्थित गराउने परम्परा हो, त्यसविपरीत कार्यक्रम आयो,’ सिटौलाले कान्तिपुरसँग भने, ‘विगतमा यस्तो कार्यक्रम गर्दा रामचन्द्र पौडेल (राष्ट्रपति) जी र विमलेन्द्र निधिजीले पनि केन्द्रीय कार्यसमितिलाई जानकारी गराएर मात्र गराउनुभएको थियो । तर यस पटक त्यस्तो भएन । केन्द्रीय कार्यसमितिका सदस्यलाई थाहा नहुँदा पार्टीको राजनीतिक कार्यदिशा कसरी तय हुन्छ र त्यसको स्वामित्व कसले लिन्छ ?’
विधानले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको काम, कर्तव्य र अधिकारका सम्बन्धमा सातबुँदे क्षेत्राधिकार तोकेको छ । जसमा समसामयिक राजनीतिक विषय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पार्टीले लिनुपर्ने नीति निर्माण, पार्टीले अख्तियार गरेका र गर्नुपर्ने नीति तथा कार्यक्रम, मुलुकको समग्र हितका लागि पार्टीले लिनुपर्ने नीति, पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि आवश्यक अध्ययन, अनुसन्धान, पार्टी तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाका सदस्यलाई पार्टीको आदर्श, सिद्धान्त, मूल्य, मान्यता, नीति, रणनीतिबारे प्रशिक्षित र सक्षम बनाउनु मुख्य काम भएको उल्लेख छ ।
विधानले प्रतिष्ठानको नेतृत्व पार्टी उपसभापतिले गर्ने व्यवस्था गरेको छ । उपसभापति खड्का आसन्न १५ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । उनीजस्तै सिटौला, सिंह, निधि र शशांकसमेत आकांक्षी देखिएका छन् ।
कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले भने पूर्वपदाधिकारी सबैलाई आमन्त्रण गरिएको दाबी गरे । उद्घाटन समारोहमा सभापति देउवाले मात्र मन्तव्य राखेका थिए । मञ्चमा पनि सभापति देउवा र खड्काका लागि मात्र कुर्ची राखिएको थियो ।
‘यो जिल्ला सभापतिको भेला होइन, प्रतिष्ठानले आयोजना गरेको अभिमुखीकरण प्रशिक्षण हो तर सबैलाई मैले नै फोन गरेर बोलाएको हो, खबरै नगरेको होइन,’ पौडेलले भने, ‘केन्द्रीय कार्यालयले आयोजना गर्ने जिल्ला सभापतिको भेला हुनै बाँकी छ ।’ पूर्वपदाधिकारीले भने आफूहरूले आपत्ति जनाइसकेपछि मात्र खबर गरिएको बताएका छन् ।
