सिन्धुपाल्चोक — जिल्लाको भोटेकोशी गाउँपालिका वडा १ काङलाङमा विद्युत्को तार सट भएर आगो लाग्दा दृष्टिविहीन टुङ्ना गायक वीरबहादुर कामीको परिवार बस्ने टहरा जलेको छ ।
प्रहरीकाअनुसार मंगलबार मध्यराति एक्कासी नजिकैको पिठो पिस्ने मिलमा तार सट भएर आगो लाग्दा टहरा जलेको हो । आगोले घर, भान्सा र सुत्ने कोठा जलेर नष्ट भएको छ ।
घर जलेर नष्ट भएपछि सहयोगका लागि विकले याचना गरेका छन् । ‘यही गीत गाएर वर्षौंपछि सबैको सहयोगले बल्लतल्ल यो टहरा बन्यो, त्यो टहरा पनि बर्खामा जोखिममा परेको थियो, तर रातिको आगोले जलायो, अब कहाँ बस्ने हो ठेगान छैन,’ वीरबहादुरले दुखेसो सुनाए ।
लोकगीत र टुङ्ना गायकका रुपमा चिनिएका उनी परिवारसहित बर्खे पहिरोले जोखिममा परेको टहरामा बस्दै आएका थिए । जोखिममा परेको उनको टहरासहितको माथिल्लो गाउँलाई पहिरोबाट सुरक्षित गर्न भोटेकोशी गाउँपालिकाले पर्खाल लगाएको थियो । त्यसपछि सुरक्षित बनेको त्यही टहरा पनि जलेपछि बालबच्चा लिएर अब कहाँ जाने? कसरी बस्ने टहरा र खाना जुटाउने भन्ने समस्या उनको परिवारलाई परेको छ ।
आगोले घरमा भाँडाकुडा, खाद्यान्न लत्ताकपडा जलेर नष्ट भएपछि वीरबहादुरको परिवार विचल्लीमा परेको स्थानीय शिक्षक पशुराम गौतमले बताए । पहिरोबाट बचेको जमिनमा खेतीपाती गरेर जिविकोपार्जन गरिरहेका विकको परिवारलाई दैनिक छाक टार्न मुस्किल छ । ‘विक गीत गाएर चिनिए, त्यसले गुजारा चलाउने प्रयास गरे, तर उनको परिवारलाई अहिले आपत् परेको छ, बर्खामा घर जोखिममा थियो, अहिले त्यही घर पनि आगोले ध्वस्त बनायो ,’ उनले भने ।
