भारतीय सुरक्षाकर्मी हतियारसहित सुस्ता किन आए ?

माघ २२, २०८१

नारायण शर्मा

Why did the Indian security personnel come to Susta with weapons?

नवलपरासी — भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमि सुस्तामा आएर फर्केका छन् । सोमबार दिउँसो भारतीय प्रहरीकै गाडीमा आएका सुरक्षाकर्मी सुस्ता बचाउ अभियानका मुन्ना खाँलाई पक्राउ गर्न आएको र उनी फेला नपरेका कारण रित्तै फर्किएको दाबी गरिएको छ । ४ दशक अघिदेखि मुन्ना सुस्ता बचाउ आन्दोलनका अगुवा हुन् ।

'म सुस्तास्थित जनता दलित आधारभूत स्कुलमा सरस्वती पूजाको कार्यक्रममा प्रमुख अतिथि हुन गएको  थिएँ,' मुन्ना खाँले भने, 'कार्यक्रम सकेर दिउँसो साढे १२ बजे घर फर्किएँ । भारतीय सुरक्षाकर्मीहरू दिउँसो ३ बजे र २० मिनेट जाँदा मलाई खोज्दै सुस्ता पुगेका रहेछन् ।' खाँले आफू घर फर्किसकेका कारण जोगिएको बताए । उनको घर नारायणी वारी छ । पारी सुस्तामा हतियारसहित ७ भारतीय सुरक्षाकर्मी पुगेका थिए ।

सुस्ता घुमेका भारतीय सुरक्षाकर्मीहरू सुस्तास्थित नेपाल प्रहरीको चौकीमा समेत पुगेका थिए । सुस्ता बचाउ अभियानमा अहिले सल्लाहकार रहेका खाँले सुस्तामा सशस्त्र प्रहरी राख्न आफ्नो नामको नम्बरी १ बिगाहा १३ कट्ठा जग्गा निःशुल्क दिएका थिए । उनले नेपाल प्रहरीलाई पनि १३ कट्ठा जग्गा निःशुल्क दिएका थिए । त्यही जग्गामा नेपाली सुरक्षाकर्मीहरू रहेका छन् ।

आफूले त्यहाँ जाँदा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर नै सुस्तामा गएको जानकारी दिए । आफू सुरक्षाकर्मीसहित सुस्ता गएको सुनाए । त्रिवेणी सुस्ता गाउँपालिका वडा नम्बर ५ हो ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला स्किम श्रेष्ठले मुन्ना खाँले भनेअनुसार सुरक्षाकर्मी दिएर पठाएको जानकारी दिइन् । सुस्ता जाँदा उहाँले सधैँ मुन्ना खाँले सुरक्षा माग्नु हुन्छ हामी दिन्छौं । हिजो पनि सुरक्षा दिएका हौं । उहाँले सुरक्षाकर्मीको आवश्यकता महसुस गर्दा सधैँ प्रशासनले उपलब्ध गराउने गरेको जानकारी श्रेष्ठले दिइन् । भारतीय सुरक्षाकर्मी बाटो बिराएर सुस्ता पुगेको र त्यो जानकारी गराउनासाथ भारत फर्किएको उनले बताइन् । प्रजिअ श्रेष्ठले भारतीय सुरक्षाकर्मी बाटो बिराएर सुस्ता पुगेको र मुन्ना खाँसँग कुनै सरोकार र साइनो नै दाबी गरिन् ।

मुन्ना खाँ दिउँसो सुस्ताको स्कुलको कार्यक्रममा पुगेर फर्किनु भयो भारतीय सुरक्षाकर्मीहरू साँझ ५ बजे तिर बाटो बिराएर त्यहाँ पुगेको आफ्नो जानकारीमा रहेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

को हुन मुन्ना खाँ?

२०४१ सालमा हतियारसहित सुस्तामा आएका ५ जना भारतीय अर्धसैनिक बल ( एसएसबी)लाई खाँको नेतृत्वमा समातेर नेपाल प्रहरीलाई बुझाइएको थियो । सुस्तामा आतंक मच्चाउन आएका ती ५ जना भारतीय एसएसबीलाई खाँले गाउँलेको सहयोगमा समातेर नेपाल प्रहरीलाई बुझाएका थिए । 

‘त्यसैबेलादेखि भारत सरकारले मलाई गिद्दे दृष्टिले हेर्ने गरेको छ र सधैं पक्राउ गर्ने जोखाना खोज्छ,' खाँले भने, ‘आफनो भूभाग (सुस्ता)  जोगाउने जिम्मेवारी मेरो पनि हो ।’

२०४१ सालको त्यो घटनापछि आफूलाई तत्कालीन राजा वीरेन्द्रले दरबारमा बोलाएर गोर्खा दक्षिण बाहुले सम्मान गरेको उनले बताएका छन् । खाँले भने, ‘त्यतिखेर गहमन्त्री पद्यमसुन्दर लावती थिए, नेपाल प्रहरीका आइजीपी डिबी लामा थिए ।’

राजाले सुस्ता बचाउ आन्दोलनको नेतृत्व गरेर सम्मान गरेको जानकारी पाएपछि भारत सरकारले आफूप्रति सधैं गिद्दे नजरले हेर्ने गरेको र त्यसपछि सधैं खोजी गर्दै आएको खाँले बताए। अहिले ७९ वर्षमा पुगेका मुन्ना खाँले भने, ‘मलाई जोगाउने दायित्व नेपाल सरकारको हो । किनकि मैले सुस्ता बचाउ आन्दोलनको नेतृत्व गर्दै आएको छु ।’

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully