पाथीभरा केबलकार विवादबारे गृहमन्त्री लेखकले गरे कोशी प्रदेशका कांग्रेस सभापतिसँग छलफल

माघ २२, २०८१

आनन्द गौतम

The Home Minister discussed the Pathibhara cable car dispute with the Congress President of Koshi

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार विवादको दिगो समाधानका लागि गृहमन्त्री रमेश लेखकले आफू सम्बद्ध पार्टी नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिसँग छलफल गरेका छन् । 

सरकार र नो केबलकार समूहबीच वार्ता भइरहँदा लेखकले दिगो समाधानका लागि आफूहरुसँग राय मागेको छलफलमा सहभागी ताप्लेजुङ कांग्रेसका उपसभापति डिल्लीरमण बरालले जानकारी दिए । सहभागी जिल्ला सभापति तथा प्रतिनिधिले संवादमार्फत विवाद टुंग्याउन सुझाव दिएका थिए । ‘प्राय: सबैजसोले विवाद समाधान गरेर केबलकार बनाउन सुझाव दिनुभयो,’ बरालले भने, ‘लगानीकर्तालाई निरुत्साहन गर्नु हुँदैन, केबलकार बनाइनु पर्छ तर, असन्तुष्ट समूहलाई छलफलमा ल्याएर विवाद निरुपण गरेर अगाडि बढ्नु पर्छ भनेर सल्लाह दियौं ।’ 

केबलकार बनाउनु हुँदैन भन्नेमा कोही पनि नभएको तर असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर बनाउनु पर्छ भन्ने धेरैजनाको धारणा रहेको बरालले बताए । 

ललितपुरको एउटा होटलमा मंगलबार पनि केबलकार निर्माण स्थगित, पक्राउ कार्यकर्ता रिहा र यातायात बन्द फिर्ताको विषयमा छलफल भइरहेको वार्ता समितिले जनाएका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully