ताप्लेजुङ — सरकारी वार्ता टोली र ‘नो केबलकार समूह’बीचको वार्ता आज पनि जारी रहने भएको छ । हिजोको वार्ता आज बिहान ११ बजेदेखि गर्नेगरी स्थगित भएको थियो । हिजोको वार्ता काठमाडौंको ललितपुरमा रहेको होटल हिमालयमा भएको थियो ।
संघीय सरकारका प्रतिनिधि र आन्दोलनरत समूहले हिजो पहिलोपटक छलफल गरेका हुन् । पहिलो चरणमा आन्दोलनका क्रममा पक्राउ परेका तीन जनाको रिहाइ, निर्माण कार्य स्थगित र आन्दोलनका कार्यक्रम फिर्ताको विषयमा छलफल भएको थियो । सरकारी वार्ता टोली प्रहरी नियन्त्रणमा रहेका तीनजना बन्दी रिहा गर्न तयार भए पनि निर्माण कार्य स्थगन गर्न तयार नभएपछि हिजो सहमति नभएको हो ।
‘उहाँहरुले पक्राउ परेका कार्यकर्ता रिहाइ, केबलकार निर्माणको काम स्थगित, काफ्लेपार्टीबाट सुरक्षाकर्मी फिर्ताको विषय उठाउनुभयो,’ सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले भने, ‘हामी रिहाइका लागि सकारात्मक भयौं, हाल निर्माण भइरहेको स्थानको काम नरोक्ने तर त्यो भन्दा माथिको काम नगर्ने भन्यौं, उहाँहरुले त्यसमा सहमति जनाउनु भएन र मंगलबार फेरि बस्नेगरी स्थगित गरेका छौं ।’
यता आन्दोलनरत समूहले यातायात बन्द जारी राखेको छ । आन्दोलनका अगुवामध्येका एक नवीन पोमुका अनुसार वार्ता चलिरहेकाले यातायात बन्दको कार्यक्रम यथावत राखिएको हो । ‘आजदेखि अरुण पूर्वका नौ जिल्लामा आम हड्तालको कार्यक्रम थियो,’ उनले भने, ‘हड्तालको कार्यक्रमलाई स्थगन गरेर यातायात बन्दको कार्यक्रम मात्रै रहेको छ ।’
सरकार लचिलो बन्छ र जनजीवन सहज बनाउन सहयोग पुर्याउँछ भन्नेमा आफूहरु आशावादी रहेको प्रतिकृया आन्दोलनरत समूहले दिएका छन् । जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिले पनि वार्ताको माध्यमबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
जिल्लामा केन्द्रित आन्दोलन राजधानीसम्म पुग्दा संघीय सरकारसँगको वार्ता प्रक्रिया पनि राजधानी प्रवेश गरेकाले त्यहिँबाट निकास निकाल्न उनीहरुले आग्रह गरेका हुन् ।
