काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालले अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भनेर अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । संघीय संसद्का दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभामा माघ १८ मा पेस भएका अध्यादेश स्वीकार गर्ने कि नगर्ने भनेर २४ गतेका बैठकमा पेस हुँदैछन् ।
जसपा, नेपालको सोमबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले अध्यादेश अध्ययन गर्नका लागि कार्यदल गठन गरेको हो । अध्यक्ष उपेन्द्र यादवले दिएको जानकारी अनुसार सांसद राजकिशोर यादवको संयोजकत्वमा अध्यादेश अध्ययन कार्यदल गठन गरिएको छ ।
उक्त कार्यदलले मंगलबारसम्म अध्यादेशबारे अध्ययन गरेर प्रतिवेदन दिनेछ । त्यसपछि संसदीय दलको बैठक बसेर निर्णय लिइने तयारी छ । जसपा, नेपालले मंगलबार संसदीय दलको बैठक सिंहदरबारमा बोलाएको छ । जसपा, नेपालले समर्थन गर्दा मात्रै राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत हुनसक्ने सम्भावना रहेको छ ।
