‘नो केबलकार समूह’ ले वार्ताका लागि समन्वय समिति बनाउने 

माघ २१, २०८१

आनन्द गौतम

The 'No Cable Car Group' will form a coordination committee for the talks

ताप्लेजुङ — गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि ‘नो केबलकार समूह’ ले समन्वय समिति बनाउने भएको छ । समूह यतिबेला गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा बनेको समितिको खबरको पर्खाइमा रहेको छ । 

सहसचिव स्तरको समितिले निकास दिन नसक्ने बताएका आन्दोलनरत समूहका प्रेम एक्तेङले समितिवाट खबर आए आफूहरूले पनि समन्वय समिति बनाउने बताए ।

किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्षसमेत रहेका उनले सोमबार दिउँसोसम्म वार्ताका विषयमा आधिकारिक जानकारी नआएको बताए । उनले भने, ‘वार्ता समिति बनाएको हामीलाई थाहा भयो । संघीय सरकारकै तर्फबाट मात्रै कुरा गछौं भन्ने हाम्रो अडान थियो, त्यो मानेमा हिजो भएको जुन निर्णय हो, सार्वजनिक गरिएको छ, त्यो सकारात्मक छ । तर त्यसमा अझ हाम्रो एउटाचाहिँ सहसचिवको तहबाट निर्णय भएर कार्यान्वय हुन सक्दैन । त्यसैले हामीले पोलिटिकल लेभलको वार्ता समिति बन्नुपर्छ फुलफेजको वार्ताको लागि चाहिँ भनेका हौं ।’ 

राजनीतिक रूपमै वार्ता समिति बन्नुपर्ने उनको भनाइ छ । ‘त्यो तहले मात्रै निष्कर्ष लिन सक्छ, किनभने यो खारेजीको कुरा भयो नि त,’ उनले थपे, ‘अब त्यो तहमा बस्नका लागि हाम्रा सर्तहरू छन्, जो पूरा हुनुपर्दछ ।’

गृह मन्त्रालयले गठन गरेको समितिसँग कुरा गर्नका लागि तत्काल एउटा टिम तयार गर्ने र त्यो सरकारलाई दिन सक्ने उनले बताए । ‘वार्तामा बस्नुअघि हाम्रा पूर्वसर्तहरू भनेको पहिलो कुरा काम रोक्नुपर्‍यो । काम भइरहेको ठाउँबाट  एक्स्काभेटरलगायतका निर्माण सामग्री फिर्ता गर्नुपर्‍यो ।  दोस्रो कुरा,हाम्रो तीन जना संघर्षरत मित्रहरूलाई समात्ने थुन्ने र झुटा मुद्दा लगाउने काम भएको छ ती बन्दीहरू रिहा गर्नुपर्‍यो ।’

त्यस्तै मुक्कुमलुङ क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई फिर्ता गर्नुपर्ने पनि उनले बताए । आफूहरूमाथि गोली चलाउनेलाई छानबिन गरेर कारबाही गर्नुपर्ने पनि उनले बताए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully