अन्तत: पूर्वउपराष्ट्रपति पुन फर्किए राजनीतिमा, माओवादीले दियो उत्पादन विभागको जिम्मा

माघ २१, २०८१

कान्तिपुर संवाददाता

Finally, the former vice-president returned to politics, the Maoist took charge of the production department

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै सक्रिय राजनीतिमा फर्किएका छन् ।यही पुस २१-२४ मा बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई उत्पादनमा केन्द्रित गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई आर्थिक तथा उत्पादन विभागको जिम्मा दिएको हो ।

यसअघि पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी भए पनि उत्पादन विभागको जिम्मेवारीमा ल्याइएको हो । उनी पदाधिकारी बैठकमा भने आमन्त्रित सदस्यका रूपमा उपस्थित हुँदै आएका छन् । माओवादीभित्र पूर्वउपराष्ट्रपति पुनलाई पार्टी राजनीतिमा पुन: भित्र्याउने विषयमा विवाद भए पनि पदाधिकारी बैठकले भने उत्पादन विभागको जिम्मेवारी दिएको हो ।

उपमहासचिव हरिबोल गुजुरेलले पूर्वउपराष्ट्रपतिलाई आर्थिक तथा उत्पादनको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।
नेताहरूबाटै प्रश्न उठेपछि पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने तयारी रोकिएको थियो । पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति बैठकमा सहभागी हुन थालेका पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल छन् ।

Finally, the former vice-president returned to politics, the Maoist took charge of the production departmentगत स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गलत हुने बताएका थिए ।

सशस्त्र द्वन्द्वका बेला अध्यक्ष दाहाल सुप्रिम कमान्डर, नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणी खनाल माओवादी लडाकुको डेपुटी कमान्डर थिए । उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए । २०७९ चैतमा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनको पदावधि सकिएको थियो । यसयता डेढ वर्ष उनी कुनै राजनीतिक कार्यक्रम सहभागी भएका थिएनन् ।

२०२२ कात्तिक ७ गते रोल्पाको राङ्सीमा जन्मिएका नन्दबहादुर पुन २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिस्पर्धा गरे पनि कांग्रेसका गगन थापाबाट पराजित भएका थिए ।

पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिहरू राजनीतिक दलमा सक्रिय हुन संवैधानिक र कानुनी बन्देज भने छैन । तर राज्यको सर्वोच्च पदमा पुगिसकेका व्यक्तिहरू पुन: कुनै दल विशेषमा सक्रिय हुने कुरा व्यक्तिको नैतिकता र जिम्मवारीबोधसँग जोडिने विषय भएको राजनीतिक विश्लेशकहरू बताउँछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully