एमाले निकट कर्मचारी संगठन शिक्षातर्फका केन्द्रीय कोषाध्यक्षसमेत रहेका प्रसाईं ७ वर्षदेखि किताबखानामा कार्यरत थिए, अन्यत्र सरुवा हुँदा रमाना नै लिएनन्
काठमाडौँ — सेवाग्रहीसँग लिएको ३ लाख घूससहित नियन्त्रणमा परेका राष्ट्रिय किताबखाना (शिक्षक) काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस माग गरेको आरोपमा रकमसहित गत पुस १४ गते अख्तियारले प्रसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा किताबखानाका कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतो देखिएको भन्दै अख्तियारले उनीहरूविरुद्ध समेत मुद्दा दायर गरेको छ । सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा (निवृत्तभरण अधिकार पत्र) बनाइदिन उनीहरूले ३ लाख घूस लिएको पाइएको अख्तियारका प्रवक्ता घिमिरेले जनाए । शाखा अधिकृत प्रसाईंसहित तीनै जनालाई ३ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय हुने अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
प्रसाईंलाई अख्तियारले घूससहित दोस्रो पटक नियन्त्रणमा लिएको हो । यसअघि पनि किताबखानाबाट उनी २०७७ माघ १५ गते ५२ हजार घूससहित अख्तियारको नियन्त्रणमा परेका थिए । अख्तियारले त्यतिबेला पनि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतमा विचाराधीन उक्त मुद्दाको छिनोफानो नहुँदै पुनः उनी घूससहित प्रक्राउ परेको अख्तियारका एक अनुसन्धान अधिकृतले बताए ।
उक्त मुद्दामा प्रसाईंलाई २०७९ असार ३१ गते ‘आरोप वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको नदेखिँदा’ भन्दै विशेष अदालतले सफाइ दिएको थियो । विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै २०७९ पुस १९ गते अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । त्यतिबेला उनी सहित किताबखानाका हलुका सवारी चालक सुरेशप्रसाद नेपाल तथा त्यही क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेलाई पनि अख्तियारले नियन्त्रणमा लिएको थियो ।
सेवाग्राही भोलानाथ ढुंगानाको काम गरिदिने भन्दै घूस लिएको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । पेन्सनपट्टा बनाउन बिदाको विवरण खुल्ने ढड्डा नै चाहिन्छ भनी ८/१० दिनसम्म आलटाल गरी रकम माग गरेको बयान ढुंगानाले अख्तियारसँग दिएका थिए ।
प्रसाईं २०७४ मा रामेछापस्थित मन्थली नगरपालिकामा समायोजन भएका शिक्षा समूहका अधिकृत हुन् । तर त्यतिबेलादेखि नै उनी पहुँचको आधारमा किताबखानामा कार्यरत रहँदै आएको शिक्षा मन्त्रालय स्रोतले जनायो । ‘मन्थली गएर एक दिन हाजिर भएर भोलिपल्टै फर्किए,’ शिक्षा मन्त्रालयका एक उपसचिवले भने, ‘५२ हजार घूससहित समातिए ।’ विशेष अदालतबाट सफाइ पाएपछि उनीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा मन्त्रालयमा काज सरुवा गरेको उपसचिवले बताए । उनकै मागअनुसार पहिले घूस लिएकै कार्यालयमा मन्त्रालयले खटाएको थियो ।
उनी एमाले निकट कर्मचारी संगठन शिक्षातर्फको केन्द्रीय कोषाध्यक्षसमेत हुन् । त्यही राजनीतिक पहुँचका आधारमा ७ वर्षदेखि लगातार किताबखानामा नै कार्यरत रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । कर्मचारी संगठनको नेतृत्वमा रहेको पहुँच देखाउँदै उनले मन्त्रालयमा मन्त्री, सचिवदेखि उच्च पदस्थ कर्मचारीलाई प्रभावित पार्ने गरेको सहकर्मीहरू बताउँछन् ।
गत जेठमा पनि प्रसाईले ५० हजार घूस लिएको उजुरी शिक्षा मन्त्रालयमा परेको थियो । उजुरी पछि तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको सरुवा गरेकी थिइन् । भक्तपुरस्थित शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा उनको सरुवा भएको थियो । उनले किताबाखानाबाट रमानासमेत नलिएको र केन्द्रमा हाजिर हुन नगएको शिक्षा मन्त्रालयका अधिकृतहरू बताउँछन् ।
‘भक्तपुरको सानोठिमीमा केन्द्रको कार्यालय सँगै उनको घर छ । तर उनी घरपायक सरुवा पाउँदा पनि किताबखाना छाडेर जान तयार भएनन्,’ उनका सहकर्मी अधिकृतले भने । ‘पहिलो पटक घूससहित समातिएपछि हामीले सम्झाउँदा पनि मानेनन्,’ एक अधिकृतले भने, ‘सबै मिल्छ । सबै मिलाउँछु भन्थें ।’ त्यति बेलै सरुवा भएका सहसचिव, उपसचिव, अधिकृत लगायतका अन्य कर्मचारी भने तोकिएको ठाउँमा हाजिर हुन गएका थिए ।
