जसोतसो त्रिपालमा जाडो टारेका पीडित परिवारलाई अब बर्खाको चिन्ता, सुरक्षित ठाउँमा स्थानान्तरण गर्न माग
काभ्रे — बागमती नदी किनारमा वर्षौंदेखि बस्दै आएको थियो, काभ्रेको खानीखोला गाउँपालिका–६ चनौटेका प्रकाश सिङतानको परिवार । जहाँ उनको घरजग्गा थियो, त्यहाँ अहिले बागमती बगिरहेको छ । गत असोज १२ मा आएको बाढीले उनको घर बगाएको हो ।
‘त्यो दिन बिहानको ४ बज्दै थियो, बागमतीको सतह बढ्न थाल्यो । झिसमिसे नहुँदै बालबच्चा बोकेर जसोतसो नदी पार गरेर ज्यान जोगायौं,’ उनले भने, ‘केहीबेरमै घरबारी सबै लग्यो, त्यतिबेला ज्यान जोगाउनु नै ठूलो कुरा थियो ।’
ज्यान जोगिए पनि बास बचेन, खाद्यान्न केही बाँकी रहेन । शरीरमा भएको एकसरो कपडाबाहेक अरू केही थिएन । गाउँकै एक जनाले केही समयका लागि जग्गा दिएपछि पालिकाले उपलब्ध गराएको त्रिपाल टाँगेर बस्दै आएको उनले बताए । ‘आफ्नो जग्गा बाढीले लग्यो,’ उनले भने, ‘अर्को जग्गा किनेर घर बनाउन सक्ने स्थिति छैन ।’ उनलाई अब कसरी बास बन्दोबस्त गर्ने पीर छ । ‘पालिकाबाट हेरेर जानुभएको छ,’ उनले भने, ‘त्रिपाल, रासन, लत्ताकपडा, ओढ्ने–ओछ्याउने दिनुभएको छ, स्थायी बसोबास व्यवस्थापनका लागि तयारी भइरहेको छ भन्नुभएको छ ।’
कठ्याङ्ग्रिँदो जाडो त जसोतसो त्रिपालमा टारे पनि उनलाई बर्खाको चिन्ता सुरु भइसकेको छ । ‘बाढीले लखेटेर यहाँ आएर बसेका छौं, अबको केही महिनामै वर्षा सुरु हुन्छ, यहाँ बसेको ठाउँमा पहिरोको जोखिम छ, वर्षा सुरु नहुँदै सुरक्षित ठाउँमा सर्न पाए हुन्थ्यो,’ उनले भने, ‘आफ्नो जग्गाजमिन केही छैन, कहाँ जाने ? के गर्ने ?’
माघको चिसो सिरेटोले झिसमिसे नहुँदै त्रिपालबाट शीतका थोपा चुहिन्छन् । दिन जसोतसो कटाए पनि कठ्याङ्ग्रिँदो रात कटाउन स्थानीय कान्छीमाया सिङतानलाई निकै कठिन छ । ६० वर्षीया सासू र १ वर्षीया छोरीलाई चिसोबाट जोगाउन उनलाई हम्मे छ । ‘बुढाबुढी र बालबच्चालाई चिसोले चाँडै छुन्छ,’ उनले भनिन्, ‘दिउँसो त घाम लाग्छ, रात छिप्पिँदै जाँदा चिसो पनि बढ्दै जान्छ, ओढ्ने–ओछ्याउने त छन्, यो पालमुनि जाडो थेग्दैन, बिहान नहुँदै पालबाट शीत चुहिन थाल्छ, बालबच्चा र आमालाई चिसोबाट जोगाउन गाह्रो छ ।’
जाडो सकिन लागे पनि अब बर्खाको चिन्ता हुन थालेको उनले सुनाइन् । ‘वर्षाको पानी यो त्रिपालले थेग्दैन होला, अहिलेदेखि कसरी बस्ने तनाव भएको छ,’ उनले भनिन्, ‘बल्लतल्ल यहाँ बास पाइएको छ, भएको जग्गाजमिन सबै बगायो, जग्गा किनेर घर बनाउने पैसा छैन ।’ अहिले बसेको अरूको जग्गामा पनि पहिरोको जोखिम भएकाले चिन्ता भइरहेको उनले सुनाइन् ।
बागमती किनारछेउमा खानीखोला–६ चनौटेका प्रकाश र कान्छीमायासहित बाढीबाट प्रभावित ७ परिवार छन् । प्रकाश र कान्छीसहित अन्य दुई परिवार सगोलमा एकै स्थानमा त्रिपालमा बस्दै आएका छन् । अन्य दुई परिवार पनि चनौटेमै त्रिपालमुनि बस्दै आएका छन् । बाढीबाट विस्थापित भएको अर्को एक परिवार भने अन्यत्र सरेको स्थानीयले बताए ।
बाढीपहिरोबाट प्रभावितलाई स्थानान्तरण गर्ने तयारी भइरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार यस विषयमा संघीय सरकारलाई जानकारी गराए पनि चासो देखाएको छैन । ‘स्थानीय सरकारलाई प्राप्त अधिकारअनुसार उहाँहरूलाई त्रिपाल उपलब्ध गराएर बासको प्रबन्ध मिलाइएको छ, रासन, लत्ताकपडा, ओढ्ने–ओछ्याउने उपलब्ध गराइएको छ,’ उनले भने, ‘अस्थायी आवास व्यवस्थापनका लागि पनि केन्द्रीय सरकारको निर्णयबमोजिमको ५० हजार रुपैयाँसमेत प्राप्त भएको छैन ।’
उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने अधिकार स्थानीय सरकारलाई नभएको उनले बताए । सार्वजनिक जग्गा उपलब्ध गराउन प्राविधिक कठिनाइ र कार्यविधिमा समस्या भएको जानकारी आएको उनको भनाइ छ । सबै प्रक्रिया मिलेर र कार्यविधि बनेपछि सुरक्षित स्थानमा स्थानान्तरण गरिने थिङले बताए । उनका अनुसार विपद्बाट पालिकाभर ५० घर पूर्णरूपमा क्षति भएका छन् ।
विपद् प्रभावित पारिवारलाई गुजारा खर्चबापतको १५ देखि २० हजार र अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ जिल्लामा कार्यरत गैरसरकारी संस्थाले उपलब्ध गराइरहेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । प्रभावितलाई जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गराउन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई पटक–पटक ताकेता गरिरहेको उनले जानकारी दिए ।
