अध्यादेशको विरोध गर्नुको कुनै तुक छैन : सञ्चारमन्त्री गुरुङ

माघ २०, २०८१

आश गुरुङ

There is no reason to oppose the ordinance: Communications Minister Gurung

लमजुङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् । उनले राजनीतिक ‘स्टन्टबाजी’ का लागि यसको विरोध भइरहेको बताए । 

प्रेस चौतारी नेपाल लमजुङ शाखाको ८ औं अधिवेशन उद्घाटन गर्दै आइतबार लमजुङको बेंसीसहरमा उनले भने, ‘अध्यादेश ल्याउने कुरा संवैधानिक अधिकारको कुरा हो, संविधानमै व्यवस्था छ ।’

उनले अध्यादेश मुलुकको विकास र समृद्धिका लागि ल्याएको जिकिर गरे । ‘जनताको सेवालाई चुस्त बनाउन र सुशासनको प्रत्यायभूति दिलाउन, विकास र समृद्धिका लागि अध्यादेश ल्याइएको हो, यसको खण्डन गर्ने आधार कसैसँग छैन’ उनले भने, ‘अध्यादेश अध्यादेशको रुपमा बुझेर अध्यादेशको विरोध गर्ने कुरा राजनीतिक पूर्वाग्रहमात्रै हो । संसद् सुरु भएपछि त्यो पेस भएको छ । ६० दिनभित्र यो पास गर्नुपर्छ ।’ उनले जनताको काममा अवरोध भएकाले अध्यादेश ल्याएको र संसद‍्बाट नभागेको उनले प्रस्ट्याए ।

एक अर्को प्रसंगमा उनले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग, नियमनसम्बन्धी विधेयकबाट डराउनुपर्ने कुनै कारण नभएको बताए । ‘यो विधेयक राम्रोसँग पढौं । त्यसले आजको समस्याको पहिचान गर्न खोजेको छ, समाधान गर्न खोजेको छ,’ उनले दाबी गरे । उनले मुलुकको विकास र समृद्धि चाहनेले यो विधेयकको विरोध नगर्ने बताए । ‘नेपाल पत्रकार महासंघ लगायत संघसंस्थाले यसको विरोध गरेको छ । मैले बुझेको छैन, किन विरोध गरेको होला थाह छैन,’ उनले भने, ‘राष्ट्रिय एकता, मुलुकको विकास, सुशासन, समृद्धि नचाहनेले विरोध गर्नुपर्छ,’ उनले थपे, ‘सभ्य समाजको निर्माण गर्ने कुरामा जसको सहमति छैन, त्यसले विरोध गर्ने हो । जो अराजकको पक्षधर हुन्छ, जो अस्थिरताको पक्षधर हो, जो अशान्तिको पक्षधर हो, जो हिंसाको पक्षधर हुन्छ, त्यसले चाहिँ सामाजिक सञ्जाल सञ्चालन, प्रयोग, नियमनसम्बन्धी विधेयकको विरोध गर्ने हो ।’

उनले यो विधेयकले प्रेसलाई मर्यादित पेसा बनाउँदै व्यावसायिक रुपमा अगाडि बढाउने दाबी गरे । ‘सही सूचना दिनेहरु यो विधेयक देखेर डराउँदैनन् । प्रेस स्वतन्त्रताको प्रत्यायभूति गराउँदै, मर्यादित हुनुपर्छ, संयमित हुनुपर्छ, स्वयत्त पनि हुनुपर्ने मान्यताले यो विधेयक ल्याइएको छ,’ उनले भने । उनले बढी मात्रामा अहिले भनिएका न्यूमिडिया, अनलाइन मिडियाले समाजमा ‘नेगेटिभ’ प्रचार गरिरहेको आरोप लगाए ।

उनले प्रिन्ट मिडिया र ब्रोडकाष्टिङ मिडिया राम्रो ढंगले चलेको बताए । ‘समाजमा हिंसा फैलाउने, समाजमा दुर्भावना फैलाउने, भत्काउने, सांस्कृतिक सहअस्तित्वको खलबल्याउने, धार्मिक सहिष्णुतालाई छिन्नभिन्न पार्ने, मिस इन्मर्फेसन, डिस इन्फर्मेशनको कारणले फेक न्युजहरुको कारणले मिसिङ, फिसिङ, बुलिङ के के भन्छौं हामी, त्यसका कारण देश अराजकतातर्फ गइरहेको छ । यसको नियमन जरुरी छ,’ उनले भने ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully