काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा पुगेका छन् । आइतबारदेखि हुने पार्टीका कार्यक्रममा सहभागी हुन देउवा पोखरा पुगेका हुन् ।
कांग्रेसले अबको रणनीति, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि भन्दै सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
आइतबार महानगरपालिकाका सभापतिहरू, सोमबार र मंगलबार प्रदेश र ७७ जिल्ला सभापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ । आइतबारदेखि हुने यी नै कार्यक्रममा सहभागी हुन देउवा पोखरा गएका हुन् ।
सभापति देउवाले आइतबार महानगर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देउवालाई पार्टीका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित नेताहरूले पोखरा विमानस्थलमा स्वागत गरेका छन् ।
कार्यक्रममा सहभागी हुन पार्टीका उपसभापति, महामन्त्री लगायत केन्द्रीय नेताहरू पनि पोखरा पुग्दैछन् । सातै प्रदेशका सभापतिहरू, ७७ वटै जिल्लाका सभापतिहरू तथा प्रशिक्षण समितिका संयोजकहरू समेत पोखरामा जम्मा हुँदैछन् ।
