एक भएर अगाडि बढे कांग्रेसले देशको नेतृत्व लिने सम्भावना छ : देउवा

माछापुच्छ्रे कालो भएकामा कांग्रेस सभापति देउवाद्वारा चिन्ता व्यक्त

माघ २०, २०८१

दीपक परियार

Congress moving forward as one is likely to lead the country: Deuba

पोखरा — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक भएर अगाडि बढेको खण्डमा कांग्रेसले देशको नेतृत्व लिने सम्भावना रहेको बताएका छन् । पोखरामा आइतबार कांग्रेसको पोखरा महानगर समितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले जित वा हारलाई स्वाभाविक रुपमा लिन कार्यकर्तालाई आग्रह गरे ।

‘यो पार्टी राष्ट्रका लागि, प्रजातन्त्रका लागि, मानवीय मूल्यका लागि, राष्ट्रियता मजबुत गर्नका लागि चलिरहेको पार्टी हो । यो पार्टीको धेरै ठूलो योगदान छ । जिम्मेवारी पनि छ,’ उनले भने, ‘यहाँका साथीहरुलाई पनि अनुरोध गर्न चाहन्छु । कहिलेकाहीँ जित हार होला, हार्दैमा पनि पार्टी कमजोर हुने कुरा छैन । जित्दैमा पनि धरै उत्ताउलो हुने कुरा छैन ।’

पोखरा अत्यन्तै सुन्दर र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण ठाउँ रहेको बताउँदै उनले माछापुच्छ्रेमा कालो देखिएकामा चिन्ता व्यक्त गरे । ‘म विद्यार्थी राजनीतिमा हुँदा यहाँ जेलमा पनि थुनेको थियो केही दिन, त्यहाँबाट माछापुच्छ्रे कस्तो राम्रो देखिन्थ्यो । सारा हिउँले ढाकिएको, अहिले हिउँ पनि पहिलेजस्तो छैन,’ उनले भने, ‘हिउँ पनि पग्लिसक्यो, सुकिसक्यो । यहाँ हिउँ टिक्नै सक्दैन, त्यस्तो अवस्था छ ।’

प्रदूषणको समस्या विश्वव्यापी हुन सक्ने भए पनि पर्यावरण जोगाउन यहाँबाट पनि काम सुरु गर्न सकिने उनले बताए । उनले भने, ‘यो अत्यन्तै सुन्दर ठाउँ, राम्रो ठाउँ, महत्त्वपूर्ण ठाउँलाई अझैं सुन्दर, महत्त्वपूर्ण बनाउन सकिन्छ । यस काममा नेपाली कांग्रेसले नै नेतृत्व लिएर अगाडि बढाउनुपर्छ ।’  

पोखराको आकर्षण नेपालभित्र मात्र नभइ नेपालबाहिर पनि त्यत्तिकै रहेको बताउँदै उनले विदेशबाट आउने पाहुनालाई अझै सुविधा दिन सके यहाँको आर्थिक स्थिति बढ्ने र गतिविधि पनि बढ्दै जाने उनको भनाइ थियो । 

सम्मेलनमा कांग्रेस सह–महामन्त्री जीवन परियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि कांग्रेसले पहलकदमी लिनुपर्ने बताए । उनले माछापुच्छ्रे हिउँविहीन भएको अवस्थाका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने उल्लेख गरे ।

पोखराका नौवटै तालको संरक्षणका लागि कांग्रेसको महानगर समितिले गुरुयोजना बनाएर पूर्वाधार खडा गर्न सक्ने उनको भनाइ थियो ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully