अध्यादेशले लगानीको वातावरण सहज बनाएको छ : मन्त्री पाण्डे

माघ १९, २०८१

कान्तिपुर संवाददाता

The Ordinance has eased the investment environment: Minister Pandey

बाग्लुङ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको दाबी गरेका छन् । शनिबार बाग्लुङमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निजी क्षेत्रलाई आकर्षित नगरी देश बन्न नसक्ने बताउँदै पुँजीपतीहरूलाई गलत भाष्यद्वारा नराम्रो बनाइएको बताए । 

धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्ने र सरकारले अहिले लगानी सहजताको लागि काम गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो । कांग्रेस र एमाले दुई ठूला एक ठाउँमा आएको बेलामा ढुक्क भएर लगानी गर्न पनि उनले आग्रह गरेका थिए ।

अस्थिर राजनीतिका कारण धेरै पछौटेपन भोग्नुपरेकाले मजबुत सहकार्य गरेर अघि बढिरहेको मन्त्री पाण्डेले बताए । ‘अध्यादेशले लगानीको वातावरणलाई सहज बनाउनेछ । निजी क्षेत्रलाई हामीले आकर्षित नगरीकन कुनै उपाय नै छैन । हाम्रो देशको गलत भाष्य भनेको, लगानी कर्ता भनेको, पुँजीपती भनेको पुँजी लगानीका लागि हिम्मत, आँट र प्रयत्न गर्नेहरुकाप्रति केही नकरात्मक भाष्य बनेको थियो, यसलाई हामी चिर्दै जानेछौं,' मन्त्री पाण्डेले भने, 'धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्छ । दियो भने मात्रै त्यो देश धनी हुन्छ । धनीलाई पुँजी लगानी गर्ने वातावरण दिने हो । धनीले कर छली नगरोस्, राज्यलाई बुझाउनुपर्ने कर बुझाओस् । श्रम शोष नगरोस् र उपभोक्तालाई ठगी नगरोस् भन्ने वातावरण बनाउनु पर्छ ।’

सांसद जीवन परियारले अहिले सरकारले ल्याएका अध्यादेश निजी क्षेत्रलाई प्रबर्धन गर्नका लागि आएको बताए । उनले उद्यम व्यवसायलाई सरकारले सफल बनाउने गरी अध्यादेश ल्याएको बताए । ‘अहिले आइरहेका जति पनि अध्यादेश छन्, ती अध्यादेशहरूमा विशेष गरी निजी क्षेत्रलाई प्रमोट गर्नेगरी, उद्यम व्यवसायलाई सफल बनाउने गरी ति अध्यादेश आएका छन् भन्नेकुरामा कुनै दुईमत छैन । नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भवना छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully