प्रधानमन्त्री ओलीको प्रश्न : 'सरकार ढल्यो, ढल्यो, ढल्यो, ढल्यो' गीत गाएर जनता र देशका लागि के फाइदा ?

'०८४ सम्म यो सरकार टसमस गर्नेवाला छैन । '

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli's question: What is the benefit for the people and the country by singing the song 'Sarkar Dhalyo, Dhalyo, Dhalyo, Dhalyo'?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म कुनै पनि हालतमा नढल्ने बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरूलाई सरकार ढल्नै लाग्यो भनेर गीत नगाउनसमेत आग्रह गरे ।  

संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको आयु पूरा भएको भनाइलाई खण्डन गरेका हुन् । माओवादी अध्यक्ष दाहालले केही दिनयता सरकार चाँडै नै ढल्ने बताउँदै आएका छन् । ‘हामीले केही नगरे पनि यो सरकार ढल्छ, हामी हिँड्दा हिँड्दै ढल्छ, कसैले केही गर्नै पर्दैन,’ पछिल्लो समय दाहालले भन्ने गरेका छन् । 

'म त ढलेँ ढलेँ ढलेँ ढलेँ' गीतको सन्दर्भ ल्याउँदै प्रधानमन्त्री ओलीले भने, ‘विपक्षीमा रहेका साथीहरूले व्यर्थ खेर फालेको जस्तो लागेको छ । एउटा गीत बजारमा ढलेँ ढलेँ भन्ने प्रचारमा छ । राजनीतिक नेताहरूले त्यस्तै गाएको सुन्छु, आजै ढल्यो, भरे ढल्यो, ढल्यो, ढल्यो, ढल्यो । यो गीत राजनीतिका मञ्चमा  सुहाउँदैन । मनारेञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ ।'

अर्को निर्वाचनसम्मै कांग्रेस-एमाले सरकार टिक्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले अगाडि भने, '०८४ सम्म सरकार टसमस गर्नेवाला छैन । दिनरात यस्ता हल्ला गरेर तीन वर्ष बिताउनु जनता र देशका लागि के फाइदा ?'

कान्तिपुर संवाददाता

Link copied successfully