काठमाडौँ — राष्ट्रिय सभा बैठक माघ २० गतेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५ मिनेटमा अर्को बैठक बस्ने सूचना सुनाएका हुन् ।
शुक्रबारको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रिय सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेस गरेकी हुन् ।
विधेयक पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम गर्ने लक्ष्य रहेको उल्लेख गरिन् । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत वातावरण संरक्षण र ऊर्जा प्रवद्र्धनबाट दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्य लिइएको उहाँको भनाइ थियो ।
आजदेखि प्रारम्भ भएको राष्ट्रिय सभाको सत्रौँ अधिवेशनको प्रारम्भमा सदस्यहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले सभा र समितिका कामकारबाहीलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न विगतमा जस्तै स्वअनुशासित र स्वनियमनमा आधारित भई सुझबुझपूर्ण ढङ्गले आफूलाई क्रियाशील तुल्याउन आग्रह गरेका थिए ।
