यस अधिवेशनमा करिब ३० विधेयक संसद्मा लैजाने तयारी सरकारले गरेको छ, यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन्, गत महिना जारी गरिएका ६ अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता गर्ने सरकारको तयारी छ
काठमाडौँ — संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदै छ । यस अधिवेशनमा करिब ३० विधेयक संसद्मा लैजाने तयारी सरकारले गरेको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् । केही साताअघि जारी गरिएका ६ अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता गर्ने सरकारको तयारी छ ।
सरकारले ल्याएका अध्यादेशका कारण संसद् बैठक सुरुदेखि नै पेचिलो हुने देखिएको छ । सरकारले संसद् अधिवेशन धकेलेर अध्यादेश ल्याएको भन्दै विरोध गर्ने तयारीमा प्रतिपक्षी दल रहेका छन् । सरकार भने अध्यादेशलाई जतिसक्दो छिटो पारित गराउने रणनीतिमा छ । प्रतिपक्षी दलबाट चर्को विरोध आउने अनुमान गरेरै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशको बचाउ गर्न आफ्ना सांसदलाई निर्देशन दिइसकेका छन् ।
सरकारले जारी गरेको अध्यादेश संसद् अधिवेशन प्रारम्भ भएको दिनमै पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
त्यहीअनुसार ६ अध्यादेश शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा ‘टेबल’ गर्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । दुवै सदनले स्वीकार नगरे वा सदनको बैठकले त्यसमाथि कुनै निर्णय नलिए सदनको बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।
प्रतिपक्षी दलले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना सदनमा दर्ता गराउने तयारी गरेका छन् । ‘संसद्मा रहेको विधेयक फिर्ता नगरी अध्यादेश ल्याइएको छ । यसरी अध्यादेश ल्याउनु संसदीय मूल्य मान्यताविपरीत हो,’ प्रमुख प्रतिपक्षी दल माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘सरकारको गलत क्रियाकलापविरुद्ध सशक्त रूपले सदनमा प्रस्तुत हुन्छौं ।’ प्रतिपक्षी दलहरूले महँगी र भ्रष्टाचार जस्ता विषय पनि उठाउने तयारी गरेका छन् ।
सत्तारूढ एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक व्यवस्थाबमोजिम सरकारले जारी गरेको अध्यादेशप्रति विपक्षी दलले असंवैधानिक वा गैरराजनीतिक व्यवहार देखाए प्रतिवाद गर्ने बताएका छन् । ‘अध्यादेशलाई लिएर विपक्षी दलहरूले मोर्चाबन्दी गरिरहेका छन्, अध्यादेश अस्वीकार गरेर जाने आधारहीन र तर्कहीन कुरा गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन्,’ उनले भने, ‘भ्रमलाई चिर्ने हाम्रो प्रयास रहनेछ ।’ उनका अनुसार अध्यादेशसम्बन्धी प्रस्तावलाई माघ २४ सम्म पारित गरिसक्ने तयारी छ । अध्यादेश पारित भएपछि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक सदन प्रवेश गर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीमा भएको छानबिनमा सरकार पूर्वाग्रही ढंगले अघि बढेको निष्कर्ष निकाल्दै विरोध गर्ने भएको छ । ‘सहकारी छानिबनमा सत्तापक्ष र प्रतिपक्षका व्यक्तिलाई सरकारले दुईथरि व्यवहार गरेकाले त्यसको प्रतिवाद हुन्छ,’ प्रमुख सचेतक सन्तोष परियारले भने । अध्यादेशका सवालमा विपक्षीहरूको एउटै मत रहने उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार शान्तिपूर्ण प्रदर्शन गरिरहेकामाथि दमनमा उत्रिएको उल्लेख गर्दै संसद्मा त्यसको प्रतिवाद हुने बताए । ‘ताप्लेजुङको मुकुम्लुङमा शान्तिपूर्ण भएको प्रदर्शनमा सरकारले चर्को दमन गरेको छ’ उनले भने, ‘सरकार अधिनायकवादी र निरंकुश बाटामा अघि बढेको छ । हामी त्यसको सशक्त विरोध गछौं ।’
मधेशकेन्द्र्रित दलहरूले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने तयारी गरेका छन् । सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर मधेशी, जनजाति र आदिवासी समुदायलाई विस्थापित गर्न खोजेको जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनीष सुमनले बताए । ‘सरकारले जारी गरेका अध्यादेशमध्ये सबैभन्दा गम्भीर भूमिसम्बन्धी अध्यादेश हो भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । दुवै सभाको बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको पाँचौं र राष्ट्रिय सभाको १७ औं अधिवेशन प्रारम्भ हुन लागेको हो । संसद् बैठक साढे ४ महिनापछि बस्न लागेको हो । संघीय संसद्का दुवै सभाको अघिल्लो अधिवेशन भदौ ३१ मा अन्त्य भएको थियो । पहिलो दिनको बैठकमा प्रधानमन्त्री ओलीसहित सबै दलका प्रमुख नेताले सम्बोधन गर्ने कार्यसूची बनाइएको छ । अघिल्लो अधिवेशनको समापनयता सरकारबाट भए गरेका मुख्य कामकारबाहीबारे सदनलाई जानकारी दिने कार्यसूची पनि छ ।
सरकारले गत महिना सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो । त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि ल्याइएको थियो ।
हिउँदे अधिवेशनमा संसद्लाई ‘बिजनेस’ विहीन नबनाउने सरकारको तयारी छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनकै रूपमा अघि बढाउने तयारीमा सरकार रहेको बताए । ‘संसद्मा रहेका सबै विधेयक सहमति जुटाएर फटाफट अगाडि बढाइनेछ । नयाँ विधेयक पनि सरकारले संसद्मा पठाउँदै छ,’ उनले भने, ‘६ अध्यादेश संसद्मा पठाइसकिएको छ । केही दिनमै त्यसको प्रतिस्थापन विधेयक दर्ता गराइनेछ ।’ सरकारले हिउँदे अधिवेशनका लागि ६ वटा नयाँ विधेयक संसद्मा पठाइसकेको छ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक गत महिना नै राष्ट्रिय सभामा दर्ता भइसकेका छन् । सामाजिक सञ्जाल विधेयक मंगलबार राष्ट्रिय सभामा दर्ता गरिएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक मंगलबार प्रतिनिधिसभामा दर्ता गराएको छ । संसद्का प्रवक्ता गिरीका अनुसार नयाँ दर्तापछि संसद्मा रहेका विधेयकको संख्या ३० पुगेको छ । त्यसमध्ये दुईवटा गैरसरकारी विधेयक हुन् ।
प्रतिनिधिसभाका विभिन्न समितिमा १५ र राष्ट्रिय सभाको विधायन समितिमा ४ विधेयक छलफलमा छन् । ३ वटा विधेयकको प्रतिवेदन समितिबाट तयार भएर सदनमा पेस हुन मात्र बाँकी छ । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले दुई दर्जनभन्दा बढी विधेयक विभिन्न मन्त्रालयबाट संसद्मा जान लागेको बताए । ‘नयाँ केही विधेयक संसद्मा पुगिसकेका छन्, केही प्रक्रियामा छन्,’ उनले भने, ‘हिउँदे अधिवेशनले कानुन निर्माणको सन्दर्भमा प्रशस्त काम पाउँदै छ ।’
न्यायालय, बौद्धिक सम्पत्ति, निकासी–पैठारी, पर्यटन, चलचित्र, पशु चिकित्सा, सूचना प्रविधि तथा साइबर सुरक्षा, मेलमिलाप, बालबालिका, निर्वाचन व्यवस्थापन, अपराध संहिता र देवानी संहिता संशोधनसम्बन्धी विधेयक संसद्मा पठाउने तयारी रहेको कानुन मन्त्रालयले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन संशोधन, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक र ख्वप विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदालाई पनि कानुन मन्त्रालयले तर्जुमा सहमति दिइसकेको छ । तिनलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर छिट्टै संसद् लगिँदै छ । यस्तै, सञ्चार, खानी तथा खनिज पदार्थ, रासायनिक पदार्थ, विज्ञान प्रविधि, नवप्रवर्तन, उच्च शिक्षा, राष्ट्रिय योग्यता प्रारूप, स्वास्थ्य शिक्षा प्रतिष्ठान र जग्गा प्राप्तिसम्बन्धी विधेयक पनि हिउँदे अधिवेशनमा पेस गर्ने तयारी छ ।
विभिन्न मन्त्रालयले हिउँदे अधिवेशनमा पेस गर्ने गरी तर्जुमा सहमतिका लागि करिब ३० विधेयकको मस्यौदा कानुन मन्त्रालय पठाएका छन् । तीमध्ये अधिकांशमा प्रक्रियागत काम तथा छलफल जारी छन् । ‘मन्त्रिपरिषद्ले केही विधेयकलाई संसद्मा लैजाने निर्णय गरिसकेको छ, केही मन्त्रिपरिषद्मा पुगेका छन् । केहीमाथि सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयमा काम भइरहेको छ,’ कानुनमन्त्री चौरसियाले भने । संसद्मा विद्यालय शिक्षा, संघीय निजामती सेवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार निवारण, निर्माणमुखी सामग्री, सुरक्षित कारोबार, भन्सार, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान, धितोपत्रसम्बन्धी, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक संसद्मा विचाराधीन छन् । जलस्रोत, विद्युत्, केही नेपाल ऐन संशोधन, विद्युतीय व्यापार, तिलगंगा नेत्र विश्वविद्यालय, नेपाल कानुन व्यवसायी परिषद्, नवीकरणीय ऊर्जा तथा दक्षता, मिडिया काउन्सिललगायतका विधेयकमा छलफल जारी छ । त्यसमध्ये भ्रष्टाचार निवारण र सुरक्षित कारोबार विधेयकमाथि समितिले हालै सहमति जुटाएर प्रतिवेदन तयार गरेको हो ।
