नारायणटारमा ३७ र नार्केमा १५ अस्थायी आवास निर्माण
काभ्रे — जस्ताको छानो, वरिपरि बाँसको बार, जस्तापाता र बाँसकै झ्याल–ढोका । रोशी गाउँपालिका–१ र २ नारायणटारमा बन्दै गरेका अस्थायी टहरा हुन् यी । आफ्नो अस्थायी टहराको भुइँ लिपपोत गर्दैछिन्, नन्दकुमारी सुनुवार । गत असोज दोस्रो साता नारायणटार खोल्साबाट आएको गेग्रानले दर्जनौं घरधुरीसहित जग्गाजमिन पूर्णरूपमा क्षति गर्यो । नन्दकुमारीले पनि जीउज्यानबाहेक केही जोगाउन सकिनन् ।
साता दिन नजिकैको स्कुल, महिना दिन गाउँमा छरछिमेकको सहारामा बसिन् । ‘सम्पत्तिको नाममा केही बाँकी रहेन, न घर छ, न त जग्गा,’ उनले भनिन्, ‘केही वर्षका लागि अँधियामा बाली लगाएको थिएँ, त्यही बारीमा अहिले ओत लाग्ने छाप्रो बनाउँदै छु, स्थायी रूपमा घर बनाउन न पैसा छ, न त जग्गा नै, यही छाप्रोले एक/दुई वर्ष त थेग्ला भन्ने लागेको छ ।’
बर्खा सुरु नहुँदै ओत लाग्ने छाप्रो भए पनि पाएकामा उनले खुसी व्यक्त गरिन् । आउँदो बर्खामा पनि क्षति व्यहोर्नुपर्ने पो हो कि भन्ने चिन्ता उनलाई छ । ‘खोल्सालाई समयमै व्यवस्थित गर्न नसके अर्को बर्खामा पनि उस्तै क्षति हुन सक्छ,’ उनले भनिन्, ‘जसोतसो बनाएको टहरा पनि बगाउँला भन्ने डर छ, यसबारे वडा र पालिकालाई पनि जानकारी गराइएको छ ।’
नारायणटारका योगल श्रेष्ठ नापोअनुसार बाँसलाई करौतीले काट्दै छन् । श्रेष्ठका दाजुभाइ बाँस र जस्तापाताले अस्थायी टहरा बनाउने तयारी गरिरहेका छन् । बाढीले घर पूर्णरूपमा क्षति भएपछि महिनौं दिन अरूकहाँ बसेको उनको परिवारले अहिले अस्थायी टहरा बनाइरहेको हो । ‘सधैं अरूको सहारामा बसेर पनि भएन,’ उनले भने, ‘सहयोगमा बाँस, जस्तापाता, किला, काँटालगायत सामग्री पाएँ, टहरा बनाउने सीप भएकाले आफैंले बनाउन सुरु गरें ।’
असोजको दोस्रो साता आएको बाढीबाट घरबारविहीन भएका रोशी–१ मा ७ र २ मा ३० गरी नारायणटारमा ३७ अस्थायी आवास निर्माण गरिएको पालिकाका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार अस्थायी आवास बनाउन सेभ द चिल्ड्रेनको सहयोगमा प्रतिटहरा ५० हजार रुपैयाँ खर्च गरिएको छ । यसबाहेक संस्थाको सहयोगमा शौचालय, खानेपानी ट्याङ्की, न्यानो कपडा पनि उपलब्ध गराइएको छ ।
अति विपन्न परिवारलाई संस्थाले अस्थायी आवास बनाउन लाग्ने ज्याला खर्च पनि उपलब्ध गराएको अध्यक्ष लामाले बताए । उनका अनुसार संस्थाले अस्थायी आवास निर्माण गर्न आर्थिक, प्राविधिक एवं आवास निर्माणको डिजाइन दिनुका साथै कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले सहकार्य र समन्वय गरेको थियो । ‘मुख्य आवश्यकता भएको ठाउँमा अस्थायी आवास निर्माण गरिएको हो,’ उनले भने, ‘घरबारविहीन भएकालाई एक महिनायता अस्थायी आवास निर्माण सुरु गरिएको थियो, अधिकांश निर्माण अन्तिम चरणमा पुगेको छ ।’
वर्षाले निम्त्याएको दुःख भुलेर नारायणटारकी लक्ष्मी सेन्चुरीले पनि टहरा बनाएकी छन् । बाढीले घरबारविहीन बनाएको चोट त उनको मनमा अझै पनि उस्तै छ । ‘सधैं दुःख सम्झेर नहुने रहेछ, बास त बनाउनैपर्यो, ओत लाग्ने एउटा टहरा बनाएको छु,’ उनले भनिन् । बाढीपहिरोले रोशी–१, २, ९ र ११ नम्बर बढी प्रभावित भएका थिए । प्रभावित क्षेत्रमध्ये अति आवश्यक भएको स्थानमा पालिकाले अहिले अस्थायी टहरा बनाइरहेको हो । रोशी–९ स्थित नार्केमा १५ अस्थायी आवास निर्माण भइरहेको पालिका अध्यक्ष लामाले बताए । उनका अनुसार बाढी र पहिरोबाट पालिकाभर ५८५ घरधुरी पूर्णरूपमा क्षति भएका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वीकृतिअनुसार रोशीका विभिन्न स्थानमा अस्थायी आवास निर्माण अघि बढाइएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार विपद् प्रभावित पालिकामा गुजारा खर्च, राहत, अस्थायी आवासलगायत गतिविधिका लागि स्वीकृति पाएका गैरसरकारी संस्थाले सहयोग गरिरहेका छन् ।
