प्रतिनिधिसभामा रास्वपाको अवरोध, बस्नका लागि सभामुखको आदेश 

माघ १८, २०८१

कान्तिपुर संवाददाता

RSVP's obstruction in the House of Representatives, Speaker's order to sit

काठमाडौँ — प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकको सुरुमा नै राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेको छ । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले 'बोल्न पाऔं' भनेर समय माग गरेका थिए । सांसद सोबिता गौतमले भनिन्, ' हाम्रा केही विषय छन्, विनम्रतापूर्वक विषय राख्न चाहन्छौं । समय चाहियो ।'

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग दोहोरो संवाद गर्न नचाहेको र समय उपलब्ध हुनुपर्ने माग गरेका थिए ।

सभामुख घिमिरेले भने बस्नका लागि आदेश जारी गरेका थिए । 'बस्नका लागि आदेश गर्दछु, बस्नुस् । समय चाहिएमा थप समय दलीय आधारमा बोल्दा उपलब्ध गराउँदछु,' सभामुखको आदेश थियो ।  सभामुखले रास्वपा सांसदहरू उभिएकै बेला कार्यसूचीमा प्रवेश गर्न चाहेपछि रास्वपा सांसदहरूले टेबुल बजाएर विरोध गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully