सप्तरी — शुक्रबार सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाल राजविराज नगरपालिका कार्यालयमा पुग्दा अधिकांश कर्मचारीहरु कार्यकक्षमा थिएनन् । छड्के अनुगमनमा लागि प्रजिअ नगरपालिका पुग्दा ५९ कर्मचारीमध्ये २४ जना कार्यलयमा उपस्थित थिएनन् ।
प्रजिअ कार्यलय पुग्दा शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, स्वास्थ्य शाखा प्रमुख निरन्जन यादव, योजना शाखाका प्रकाशकुमार गुप्ता सहितका कर्मचारीहरु कार्यालयमा उपस्थित थिएनन् । कुनै कार्यकक्षमा त हिटर बलिरहेको थियो । तर कर्मचारीको कुर्सीमा कोही पनि थिएनन् ।
नियमित अनुगमनअन्तर्गत आफूहरु नगरपालिका पुगेको प्रजिअ दाहालले बताए । उनले भने, ‘झण्डै आधा कर्मचारी अनुपस्थित थिए । कोही तालिममा त कोही बिदामा भनियो तर हाजिरी रजिष्टरमा बिदा वा तालिका उल्लेख गरेको देखिएन् ।’ उनले अनुपस्थित कर्मचारीहरुका विषय समेत समेटेर आवश्यक सुझाव राजविराज नगरपालिकाकालाई दिइने बताए ।
राजविराज नगरपालिकाका मेयर भीमराज यादव भ्रष्टचार मुद्दामा निलम्बित छन् । अहिले नगरपालिका कार्यवहाक नगरप्रमुख ईसरत परविनले कार्यालयमा कर्मचारीको ढिलासुस्तीको समस्या रहेको बताउँदै शुक्रबार कार्यलयमा नभेटिएका कर्मचारीलाई अनुगमनका आधारमा कारबाही गरिने बताइन् ।
