मोरङ — नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताएका छन् ।
आपूर्ति तथा उपभोक्ता विभागद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई सहज आपूर्ति व्यवस्था गर्नु, जनताको हित गर्नु, मुलुकमा लगानी भित्र्याउनु, विदेशमा सूचना प्रविधिको कम्पनी स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुलगायत उद्देश्यसहित अध्यादेश ल्याइएको दाबी गरे ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका खड्काले दुई/दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न, मुलुकमा समृद्धि ल्याउन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताए । उनले नेपाली कांग्रेस र एमालेबीच विसं २०५१ पछि देश जनता, मुलुकको स्वाधिनताको रक्षा र ठूला परिवर्तनका लागि संयुक्त गठबन्धन सरकार निर्माण भएको इतिहास रहेको स्मरण गराए ।
उपसभापति खड्काले संविधानको कार्यान्वयनसँग जोडिका ऐनहरू संसद्का सम्बन्धित समितिमा गएका जानकारी दिए । उनले उपभोक्ता संरक्षण ऐनमा कालो बजारी नियन्त्रणसम्बन्धी व्यवस्था रहेको भन्दै केही थप्नुपरेमा विभागलाई आवश्यक सुझाव दिन आग्रह गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि विभागका प्रमुख मीन विश्वकर्माले नागरिकको चुल्हो महँगिएकाले त्यसको समाधान खोज्न राजनीतिक दलहरूले पनि पहल गर्नुपर्ने बताए । पूर्व उद्योग वाणिज्यमन्त्री समेत रहेका विश्वकर्माले पार्टीले उपभोक्ता अधिकारका सम्बन्धमा देशभरि छलफल गरेर तयार हुने प्रतिवेदनले आगामी दिनमा सरकारको नीति निर्माणमा सहयोग पुर्याउने बताए ।
आपूर्ति तथा उपभोक्ता विभागको प्रमुखसमेत रहेका केन्द्रीय सदस्य गुरु बरालले आपूर्ति तथा उपभोक्ता अधिकारका क्षेत्रमा रहेका समस्याहरूको पहिचान गरी पार्टी र सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउने बताए । 'उपभोक्ता हामी सबै हौँ । तर आपूर्ति प्रणालीका कतिपय स-साना समस्याका कारण समेत हामी सबैले महँगी र ठगी व्यहोर्नुपरिरहेको अवस्था छ,' उनले भने, 'त्यसका लागि सरकार जिम्मेवार हुनुपर्छ । उपभोक्ता पनि सचेत हुनुपर्छ । तबमात्रै आपूर्ति प्रणालीमा रहेका समस्याहरूको समाधानका लागि व्यवसायीहरूलाई जिम्मेवार र जवाफदेही बनाउन सकिन्छ ।'
उनले विभागमार्फत् यही वर्ष सातै प्रदेशमा अलग-अलग कार्यक्रम गरी त्यस्ता समस्याहरूको पहिचान गरिएको बताए । कांग्रेसका केन्द्रीय सदस्यद्वय भीम पराजुली र राजीव ढुङ्गानाले सरकारले इमान्दारीपूर्व अनुगमन गर्नुपर्ने सुझाव दिँदै किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेसका कोशी सभापति उद्धव थापाले जनतालाई गुणस्तरीय वस्तु तोकिएको मूल्यमा सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिए । उनले प्रदेशको मेरुदण्डका रूपमा रहेको जोगवनी–किमाथान्का सडक निर्माण सम्पन्न पश्चात् प्रदेशको जनसङ्ख्या बराबरका पर्यटक चीन र भारतबाट आउने विश्वास व्यक्त गरे ।
प्रदेशका अर्का पूर्वमुख्यमन्त्री केदार कार्कीले नागरिकलाई सहज आपूर्तिका लागि व्यापारिक ‘सिण्डिकेट’को अन्त्य हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा विभागका सदस्य प्रेमलाल महर्जनले आपुर्ति व्यवस्था र उपभोक्ता अधिकारका सन्दर्भमा तयार गरेको कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यपत्रमाथि कोशी प्रदेशका उद्योगी, व्यवसायी, उपभोक्ता अधिकारकर्मी र राजनीतिक दलका नेताहरूले धारणा राखेका थिए ।
कार्यक्रममा भूमि आयोगका पूर्वअध्यक्ष केशव निरौला, प्रदेशसभाका सांसद गयानन्द मण्डल, प्रदेश योजना आयोगका सदस्य डा. प्रमिला गच्छदार, आपूर्ति तथा उपभोक्ता विभाग विभागका सदस्य फुलकुमार लालवानी, सदस्य सचिव मनहरि तिवारी, सदस्यहरू किरण भगत, महेन्द्र काफ्ले, देविका नेपाली लगायतले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै व्यावहारिक रूपमा जनताका समस्या समाधान गरी समृद्धितर्फ लाग्नुपर्ने सुझाव राखेका थिए ।
