इशरा र सरस्वतीको मृत्युपछि पूरै गाउँ शोकमा
ढकारी, अछाम — विद्या प्रवोधनी माध्यमिक विद्यालयको कक्षा ८ को एउटा बेन्च केही दिनयता रित्तो छ । शिक्षकले रोल नम्बर १९ र रोल नम्बर २३ भन्दा 'यस सर' भन्ने विद्यार्थी अब छैनन् । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का पाँच जना बस्ने यो बेन्चमा अब कहिल्यै देखिने छैनन् । किनकि बाख्रा चराउन घरबाट निस्केका इशरा र सरस्वतीको जंगलमै हत्या भयो ।
अघिल्लो शुक्रबार छिन्ने जंगलमा बाख्रा चराउन गएका इशरा र सरस्वतीको शव शनिबार दिउँसो करिब ४ बजेको समयमा १५ मिटरको दूरीमा क्षतविक्षत अवस्थामा भेटिएको थियो । यो शंकास्पद मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । ढकारी गाउँपालिकाकै २० वर्षमुनिका दुई किशोरविरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । मृतक किशोरीसँग भएको सम्पर्कलाई मुख्य आधार बनाएर किटानी जाहेरी आएको र मंगलबार नै मुद्दा दर्ता भइसकेको उनले बताए ।
यो घटनापछि सिंगो विद्यालय शोकमा डुबेको छ । इशरा र सरस्वतीको गाउँ पल्साता पनि शोकबाट उठिसकेको छैन । सरसस्वतीकी ६१ वर्षीय आमा ताराका निम्ति त संसार नै खसेजस्तो भएको छ । ३ छोरीको बिहे गरेपछि र छोरा पनि घरबाहिर भएकाले ताराका निम्ति सरस्वती नै मुख्य आधार थिइन् । उमेरले ६५ नाघेका सरस्वतीका बाबु घटनाका बेला कामका लागि भारतमा थिए । उनी हक्कानिँदै मंगलबार साँझ घर आइपुगेका छन् । बुढेसकालको सहारा ढलेपछि आमा सरस्वती अचेतजस्तै छिन् ।
ताराले शुक्रबार बाख्रा लिएर जंगल जाने बेलामा छोरीलाई भनेकी थिइन्, ‘बाख्रा ल्याएर आज छिट्टै आएस् । चामल सकिएका छन् । धान कुट्नु पर्नेछ ।’ घटनाको पुष्टि भएको शनिबारदेखि रुँदारुँदै उनकी आमाका आँखा ओभानो भएका छैनन् । होस् आएको बेला तारा भन्छिन्, ‘मेरो कपाल कोर्नै छ । लुगा मैला भए, धुन बाँकी छ । चामल सकिएका छन्, धान कुट्न बाँकी छ । छिटो आइजाल चल्ली, छिटो आइजा मेरा प्याउली फूल ...।’
इशाराकी आमा कलाको पनि उस्तै अचेत हाल छ । कामका लागि भारत गएका इशराका बाबु अन्तिम दाहसंस्कार गर्ने बेला पुगे । चार भाइबहिनीमध्ये माइली छोरी इशाराको हत्या भएपछि यो परिवारमा अध्यारो छाँएको छ । घरभित्रको कामदेखि मेलापातको काममा सधैँ आमालाई सघाउन अघि सर्ने छोरी नभएपछि कलाका निम्ति संसार नै टक्क अडिएजस्तो भएको छ । इशराकी भाउजू कृष्णाले भनिन्, ‘आमालाई सम्हाल्न सारै गाह्रो भएको छ । होस आउनेबित्तिकै नानी (इशरा)लाई बोलाउँछिन् अनि फेरि ढल्छिन् ।’
बुधबार वर्षाली खोलामा भएको अन्तिम दाहसंस्कारमा इशरा र सरस्वतीका स्कुले साथीहरू पनि पुगेका थिए । सँगै पढिरहेका दुई साथी गुमाउँदा उनीहरूमध्ये केहीले डाँको छोडेर रोए भने कोही भक्कानिए । सहपाठी लक्ष्मी भण्डारीले सुनाइन्, ‘साथीहरू साथमा नभएपछि एक्लो महसुस भएको छ ।’
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर चन्दले बिहीबार बिहान पीडित परिवार परिवारलाई भेटेर न्याय दिने बताएका छन् । उनले भनेका छन, ‘कानुनी कठघरामा उभ्याएर कडाभन्दा कडा सजाय हुन्छ ढुक्क भएर बस्नुस् ।’
