काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन निर्माणका बेला भएको सात बुँदे सहमति कार्यान्वयन गर्न आफ्नो पार्टी दृढ भएको बताएका छन् । संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको ६ महिनाको अवधिले सकारात्मक सुरुवात गरेको बताए ।
‘विगतमा सरकार स्थिरत हुन नसकेकाले यो सरकार गठन भएको हो । हामी दुवै दल र अन्य राजनीतिक दलहरू सरकारलाई समर्थन रहेको छ । सात बुँदे सहमति कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ । अन्य राजनीतिक दलहरुको निरन्तर सहयोग हुनेछ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने यसै व्यवस्थाका माध्यमले मुलुकमा दिगो शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण गर्ने, देशको अर्थतन्त्रलाई चलायमान गर्दै आर्थिक प्रगति गर्ने, आर्थिक अवस्थालाई सुदृढीकरण गरी समृद्धि प्राप्त गर्ने सरकारको मुख्य ध्येय हो । सरकार यसमार्गमा सकारात्मक रूपमा अघि बढेको छ । आगामी दिनमा राम्रो काम गर्दै जोनछ भन्ने विश्वास लिएको छु ।’
उनले कुनै पनि सरकारको समग्र ६ महिनाको समय पर्याप्त नभएको उल्लेख गर्दै आगामी दिनमा असल परिणाम देखिने अनुभूति गरेको बताए ।
