जसपा नेपालको कार्यकारिणी समिति बैठक शनिबारदेखि

माघ १८, २०८१

कान्तिपुर संवाददाता

JSP Nepal Executive Committee meeting from Saturday

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु हुने भएको छ । माघ १९ र २० गतेका लागि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठकको तयारी भएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक बिषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे  छलफल र करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षा हुने बताइएको छ ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पुस र माघ मसान्तसम्मका लागि अभियानको समयावधि थप गरेको थियो ।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारीअनुसार आ-आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

मधेशकेन्द्रित दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सोबारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल हुने बताइएको छ ।

कान्तिपुर

Link copied successfully