पछिल्लो दशकमा भारतीय नाकाबन्दी, भूकम्प, हुदहुद, बाढीपहिरो, कोभिडजस्ता प्रकोपका कारण आशातित हुन नसकेको पर्यटक आगमन पछिल्लो समय बढ्दै गएको छ ।
लमजुङ — विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा सन् २०२४ मा अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । यो पदमार्गमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सन् १९९६ देखि विदेशी पर्यटक आगमनको तथ्यांक लिने गरेको छ । एक्यापका अनुसार सन् २०२४ मा ३० हजार ८ सय ६६ जना पर्यटकले चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमण गरेका छन् ।
पछिल्लो दशकमा भारतीय नाकाबन्दी, भूकम्प, हुदहुद, बाढीपहिरो, कोभिडजस्ता प्रकोपका कारण आशातित हुन नसकेको पर्यटक आगमन पछिल्लो समय बढ्दै गएको छ ।
एक्यापले सन् १९९६ मा पहिलो पटक तथ्यांक लिएको वर्ष ८ हजार ३ सय ९ जना विदेशी पर्यटकले चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए ।
कोभिडको त्रास सकिएपछि पछिल्लो वर्ष पर्यटक आगमन बढ्दै गएको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले जनाए ।
‘सिजनका बेला यहाँका होटल भरिभराउ हुन्छन् । सिजन नभएका बेला पनि पर्यटक आगमन टुटेको छैन,’ उनले भने । पर्यटक आगमन बढ्दा व्यवसायीले राम्रै आम्दानी गरेको उनले सुनाए । भारतीय नाकाबन्दी र भूकम्पको समयमा पनि पर्यटक आगमन घटेको उनको भनाइ छ ।
सन् २०२४ मा चक्रीय अन्नपूर्ण पदमार्ग आउने पर्यटकमध्ये पुरुष १८ हजार ४ सय ९९, महिला १२ हजार ३ सय ६२ र अन्य ५ जना रहेको एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । यस वर्ष अक्टोबरमा मात्रै सबैभन्दा धेरै ८ हजार ८ सय ५३ आए । त्यसपछि नोभेम्बरमा ६ हजार ९ सय २ जना पर्यटक भित्रिए । यो वर्ष छिमेकी देश भारतबाट १ हजार ५ सय ५१ पुरुष र २ सय ८० महिला गरी १ हजार ८ सय ३१ जना पर्यटक भित्रिएका छन् । अर्को छिमेकी देश चीनबाट ९ सय २७ पुरुष र ६ सय ४२ महिला गरी १ हजार ५ सय ६९ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका छन् ।
चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको तल्लो मनाङको धारापानीस्थित पर्यटक चेकपोस्टले तथ्यांक लिने गरेको छ । सन् २०२३ मा १२ हजार ९ सय ८१ पुरुष, ८ हजार २ सय ६२ महिला र अन्य ४ गरी २१ हजार २ सय ४७ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए । उक्त वर्ष अक्टोबरमा सबैभन्दा बढी ५ हजार १ सय ९७ जना भित्रिएका थिए । सन् २०२२ मा १० हजार ३ सय २५ पुरुष, ५ हजार ५ सय २७ महिला र अन्य ३ गरी १५ हजार ८ सय ५५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग भित्रिएका थिए । यो वर्ष सबैभन्दा बढी अक्टोबरमा ४ हजार ६ सय ५० पर्यटक आएका थिए ।
सन् २०२१ र २०२० पर्यटक आगमन निराशाजनक रहेको एक्यापको तथ्यांक छ । २०२१ मा वर्षभरि २ हजार ३ सय ७६ पर्यटक भित्रिए । सन् २०२० मा ७ महिना पर्यटक आगमन शून्य रह्यो । यस वर्ष मार्च १४ देखि पर्यटक आएनन् । बाँकी महिना १ हजार ९ सय ७६ पर्यटक भित्रिए । कोरोना संक्रमणका कारण सरकारले लकडाउन गरेको थियो । सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको वुहानबाट कोभिड फैलिएपछि २ वर्ष पूर्ण रूपमा पर्यटक आगमन प्रभावित बन्यो । उक्त वर्ष सन् २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग भित्रिएका थिए । चक्रीय अन्नपूर्ण पदमार्गमा सन् २०१८ मा यसअघि सबैभन्दा धेरै २९ हजार ४ सय ८४ जना पर्यटक भित्रिएका थिए । सन् २०१७ मा २७ हजार ६८ जना पर्यटक आएका थिए । सन् २०१६ मा २२ हजार १ सय २ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएका थिए ।
भारतीय नाकाबन्दी र भूकम्पको वर्ष सन् २०१५ मा १३ हजार ६ सय १५ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए । यसअघि सन् २०१४ मा २० हजार ६ सय ९४ जना पर्यटक भित्रिएका थिए । सन् २०१३ मा २१ हजार २ सय ७ जना आएका थिए । अहिले चिसोको समय भएकाले पर्यटक आगमन कम देखिए पनि सन् २०२४ को वर्षभर पर्यटक आगमन सुखद रहेको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । ‘कहिलेकाहीँ पर्यटक आगमन लस्करै देख्यौं । पर्यटक बढ्नाले नेपालमा शान्ति सुरक्षा र अमनचैनको संकेत गर्छ । यसले नेपालको आर्थिक वृद्धिदरमा केही न केही मद्दत पुग्छ,’ उनले भने ।
सन् २००१ मा १३ हजार ९ सय २० भ्रमण गर्दा सन् २००२ मा ९ हजार ८ सय ४१ मा झर्यो । सन् २००३ मा पर्यटकको संख्या बढ्यो भने २००६ सम्म लगातार पर्यटकको संख्या घट्दै गयो । ‘यो बीचमा माओवादीको जनयुद्धले पर्यटन क्षेत्रमा धेरै असर पार्यो,’ एक्यापका निर्देशक गुरुङले भने, ‘द्वन्द्व नभएको भए पर्यटनका क्षेत्रमा धेरै सुधार हुन्थ्यो र विकास पनि ।’
सन् २००६ मा ९ हजार ३ सय ६० जना पर्यटकले पदमार्गको भ्रमण गरेकामा यो संख्या बढेर २००७ मा १६ हजार १ सय ९१ पुगेको थियो । पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा प्रकृति र संस्कृति हेर्न आउँछन् । उनीहरूको रुचि संसारकै अग्लो हिमाली भन्ज्याङमध्ये थोराङ्ला (५४१६ मिटर) पुग्नु हो । संसारकै उच्च ठाउँमा रहेको मध्ये एक तिलिचो ताल (४,९१९ मिटर) पनि हो । मनाङबाट तिलिचो पुग्नेहरू पुनः मनाङ गाउँ फर्किएर थोराङ्ला पास गर्छन् । थोराङ्ला पास गरेपछि उनीहरू मुक्तिनाथ, जोमसोम, म्याग्दी हुँदै पोखरा पुगेर आफ्नो यात्रा टुंग्याउँछन् ।
